पोखरा । पोखरा महानगरपालिका कार्यालयमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले धर्ना दिएका छन् । गत कात्तिक १५ गते बसेको कार्यपालिका बैठकले २८ जना महानगरका करार कर्मचारीलाई हटाउने निर्णय गरेपछि जनप्रतिनिधिले त्यसको विरोध गरेका हुन् ।जनप्रतिनिधिको धर्ना कार्यक्रममा कर्मचारीका संघ संगठनले पनि साथ दिएका छन् ।
जनप्रतिनिधिहरुले कुनै छलफल र सल्लाह नै नगरी गरिएको निर्णय खारेज हुनुपर्ने माग राखि महानगरमा धर्ना दिएका हुन् । करार कर्मचारीको म्याद पुससम्म थप्ने र त्यसपछि सर्वपक्षीय छलफलबाट निकास खोजिनु पर्ने उनीहरुको भनाइ छ । मेयर धनराज आचार्यले गत कात्तिक १५ गते बोलाएको बैठक एमालेका जनप्रतिनिधिले बहिष्कार गरेका थिए ।
धर्नाका क्रममा धकेलाधकेल हुँदा पोखरा महानगरका नगर प्रहरी, प्रहरी नायब निरीक्षक सन्तबहादुर केसी घाइते भएका छन् । उनको अण्डाकोषमा चोट लागेको र गण्डकी मेडिकल कलेजमा स्वास्थ्य जाँच गरी आरामको लागि घर पठाइएको नगर प्रहरीले जनाएको छ । विरोध प्रदर्शन गरिरहेको बेला महानगरभित्र नै नगरप्रहरीसँग धकेलाधकेल भएको थियो ।
कार्यपालिका बैठकले १० जना इन्जिनियर १८ जना सब इन्जिनियरलाई कात्तिकसम्मको तलब दिएर मंसिर १ गते अवकास दिने निर्णय गरेको थियो । गत पुस २९ गते बसेको पोखरा महानगरको २५ औं कार्यपालिका बैठकले करारका कर्मचारी व्यवस्थापनबारे निर्णय गरेको थियो । सो बैठकले करारमा रहेका कर्मचारीहरुको ६ महिनाको म्याद थप्ने निर्णय गर्दै लोकसेवाबाट सिफारिस भएर आएपछि करारमा रहेका सेवा अवधिका आधारमा हटाउँदै जाने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।
लोकसेवाबाट बढुवा तथा सिफारिस भएर दरबन्दीमा कर्मचारी आइसकेपछि करारका कर्मचारी हटाउन कांग्रेसका प्रतिनिधिले दबाब दिएका थिए । कांग्रेसका जनप्रतिनिधिले दबाब दिएपछि मेयर आचार्यले तिहारकाे बिदाकाे दिन कार्यपालिका बैठक बोलाएका थिए ।