पोखरामा ५ हजार कुकुर दर्ता

पोखरामा ५ हजार कुकुर दर्ता

dhanraj-pokhara

पोखरा । पोखरा महानगरपालिकाले सडकमा जथाभावी छाडिने कुकुरको व्यवस्थापनका लागि घरपालुवा कुकुर दर्ता प्रक्रिया थालेको छ । महानगरपालिकामा  हालसम्म पाँच हजार कुकुर दर्ता भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।

उनले कुकुर दर्ता गरेर मात्र पाल्न आग्रह गरे । उनले पोखरामा विगतमा जस्तो जनावरका कारण सडक दुर्घटना हुने समस्या नरहेको स्पष्ट पारे । दीपावलीको अवसरमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीले पोखराको चिप्लेढुङ्गा मानवअधिकारचोकमा सन्देशमूलक दैउसीभैलो कार्यक्रममा प्रमुख आचार्यले यस विषयमा जानकारी गराएका हुन् ।

आचार्यले स्वास्थ्य क्षेत्रका थुपै्र सन्दर्भलाई सांस्कृतिक पर्वसँग जोडेर जनजागरण फैलाउँदै आएकोमा सञ्जालसहित महानगरभित्रका ६ सय ५६ स्वास्थ्य स्वयंसेविकालाई धन्यवाद दिए । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँले सरकारले समुदायको स्वस्थ्य क्षेत्र सुधारका लागि अघि बढाएका काम र लक्ष्यलाई पूरा गर्न स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताए ।

पोखरा-११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, महानगरका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, पशु सेवा महाशाखाका अधिकृत नवराज अधिकारीलगायतले कार्यक्रममा बोलेका थिए । पोखरा महानगरभित्रका फोहोरमैला एवं छाडा कुकुरका समस्यालाई उजागर गर्दै आम पोखरेली एवं कुकुर पाल्ने घरधनीलाई सचेत गराउन कार्यक्रम गरिएको सञ्जाल अध्यक्ष भीमा पौडेलले जानकारी दिइन् । सञ्जाल अध्यक्ष पौडेलको अध्यक्षतामा भएका कार्यक्रममा उपाध्यक्ष गीता भण्डारीले स्वागत र सचिव संगीता बरालले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया