पोखरा । गृहमन्त्री रमेश लेखकले तथ्य र प्रमाणले सहकारी गठीमा सम्लग्न देखिए नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । ‘कसैको मुख हेरर अनुसन्धान हुँदैन’,उनले भने, तथ्य र प्रमाणले अनुसन्धान गर्ने हो, यदी धनराज गुरुङले पनि गैर कानुनी कार्य गरेको तथ्य र प्रमाण फेला परे उहाँमाथि पनि अनुसन्धान हुन्छ ।’
प्रतिनिधिसभाले बनाएको ‘सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’मा मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका कुम्मराज गुरुङले दिएको बयानपछि धनराज गुरुङ पनि सहकारी प्रकरणमा मुछिएको तथ्य सार्वजनिक भएको थियो ।
प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संसदीय छानविन समितिले दिएको प्रतिवेदनका आधारमा पूर्वगृह मन्त्री लामिछानेमाथि अनुसन्धान भएको बताए । उनले कुनै व्यक्ति विशेष भन्दा पनि तथ्य र प्रमाणका आधारमा गैर कानुनी कार्य गरेको जो सुकैलाई पनि कारबाहीको दायरामा ल्याइने बताए ।सहकारी ठगीको अभियोग लागेका व्यक्तिहरुलाई विदेशबाट पनि पक्राउ गरी नेपाल ल्याइएको उनले बताए । ‘धेरै जनालाई कारबाही प्रक्रिया अगाडि बढेको छ’ उनले भने,‘ तथ्य र प्रमाणले सम्लन्ग देखिएका सबैको अनुसन्धान हुन्छ । ’
प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव धनबहादुर गुरुङ सुमनले गरेका थिए ।