काठमाडौं । संघीय संसदमा रहेका प्रतिपक्षी दलहरुको आज बसेको बैठकमा नेकपा माओवादी केन्द्र अध्यक्ष् तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने बताएका छन् ।
अध्यक्ष दाहालले लामिछानेलाई पक्राउ गर्न लागिएकोबारे आफूले सूचना पाएको दाबी गरेका छन् । समसामयिक विषयमा छलफल गर्न प्रतिपक्षी दलका नेता समेत रहेका दाहालले बैठक बोलाएका थिए । उनले तीन दलको बिहीबार भएको बैठकको कुराकानीबाट त्यस्तो आशय पाएको उल्लेख गरेको बैठकमा सहभागी एक नेताले बताए ।
टीआरसीबारे छलफल गर्न बुधबार बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे समेत छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्कहरु सुन्दा सरकार रविलाई पक्राउ गर्न अगाडि बढ्न खोजेको देखिएको प्रचण्डले सुनाए । एकदुई दिनमा सामात्न सक्छ भन्ने प्रचण्डको विश्लेषण रहेको बैठकमा सहभागी एक नेताले बताए ।
बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाल, लोसपा र आजपाका नेताहरू सहभागी थिए । लोसपा चाहिँ सत्तारुढ दल हो । बैठकमा रास्वपा सभापति लामिछाने, उपसभापतिद्वय स्वर्णीम वाग्ले र डोलप्रसाद अर्याल, सांसदहरू विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ र शिशिर खनाल सहभागी थिए । सहकारी ठगीको निहुँ बनाएर रविलाई पक्राउ गर्न खोजिएको नेताहरुको बुझाइ छ । रास्वपा नेता विराजभक्त श्रेष्ठले अनुसन्धानलाई सघाउन सभापति लामिछाने तयार हुँदाहुँदै पूर्वाग्रही व्यवहार गरिए स्वीकार्य नहुने बताए ।