पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को जिरोकिमीदेखि पर्स्याङसम्म राजमार्ग क्षेत्रका खाद्यान्न र मासु पसलमा अनुगमन गरिएको छ ।
वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद बरालको नेतृत्वमा १२ जनाको टोलीले अनुगमन गरेको हो । २८ वटा पसलमा अनुगमन गरिएको र विशेष गरी खाद्यान्न पसलहरुमा बेकरी आइटम, जुस, ससेज लगायतका सामग्री म्याद गुज्रेको पाइएकाले तत्कालै नष्ट गरिएको वडा सचिव लक्ष्मण शर्माले जानकारी दिए ।
शर्माका अनुसार अधिकांश पसल दर्ता भएको पाइएको र केहीले नवीकरण गर्न बाँकी रहेकाले नवीकरण गर्न भनिएको छ । साना खाद्यान्न पसलमा मूल्य सूची नराखेको पाइएकाले राख्न भनिएको उनले बताए । मासु पसल भने मापदण्ड अनुसार नै सञ्चालन भएको पाइएको र सरसफाइमा अझ ध्यान दिन सुझाव दिइएको उनको भनाइ छ ।
चाडपर्वमा हुने कालो बजारी रोक्न र उपभोक्तालाई सचेत गराउन पसल अनुगमन गरिएको वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । उनले चाडपर्वको अवसरमा म्याद गुज्रेका सामान बिक्री वितरण हुन सक्ने भएकाले त्यसलाई ध्यानमा राखेर अनुगमन गरेको बताए । उनले बजार अनुगमन कार्यलाई नियमित रुपमै गर्ने नीति वडाले लिएको उनको भनाइ छ ।
वडाध्यक्ष बरालको नेतृत्वमा भएको अनुगमनमा वडा सदस्यहरु, वडा सचिव शर्मा, उपभोक्ता हित संरक्षण मञ्चका महेश बराल, पोखरा महानगरपालिका पशु सेवा केन्द्रका पवन पाण्डे, प्रहरी लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति २०८१ असोज २२