काठमाडौं । असाेज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढीपहिरामा परी हालसम्म २ सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १ सय ७९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १ सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।
सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराइएको छ । हालसम्म त्यस्तो सहायता १ सय ६० परिवारले पाइसकेका छन् ।
बाढीपहिरोमा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७७ जनाको मृत्यु भएको छ भने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको गृह मन्त्रालयले बताएको छ ।