सिराहा असोज ९ । सिरहामा छोराको कुटाइबाट बाबुको मृत्यु भएको छ । औरही गाउँपालिका–३ खजनपुर टोलकमका ६५ वर्षीय भालेश्वर यादवको उनका छोराको कुटाइबाट मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घरायसी विवादमा सोमबार साँझ आफ्नै छोरा ३८ वर्षीय शैलेन्द्रकुमार यादव र बुहारी रेणुकुमारी यादवले उनलाई कुटपिट गरेका थिए ।
गम्भीर घाइते भालेश्वरको प्रादेशिक अस्पताल सिरहामा प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा राति बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
कुटपिट लगतै प्रहरी चौकी औरहीबाट गएको टोलीले छोरा शैलेन्द्र यादवलाई नियन्त्रणमा लिएको छ । बाबुलाई कुटपिट गर्ने छोरा शैलेन्द्रलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको सिरहा प्रहरीको भनाइ छ ।