पोखरा । आज संविधान दिवस । विविध कार्यक्रम गरी संविधान दिवसा आज मनाइँदैछ । जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित कार्यान्वयनमा आएको नेपालको संविधान २०७२ निर्माण भएको ९ वर्ष पूरा भएको छ । प्रदेश सरकार, स्थानीय तह, देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुनेछ ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो भने संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा सुवासचन्द्र नेम्वाङ थिए । उनको गत वर्ष भदौ २७ गते निधन भएको थियो ।
संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका ५ सय ३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३ सय ८ धारा र ९ अनुसूची रहेका छन् ।
सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । संविधान सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वानसमेत गरेको छ । आज सार्वजिनिक बिदा समेत दिइएको छ । पोखरा लगायत गण्डकी प्रदेशमा पनि विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।