पोखरा १ असोज । आज विश्वकर्मा जयन्ती । हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात अजोज १ गते विश्वकर्मा पूजा गरी मनाइँदैछ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो भने यो दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।
विशेष गरी नेपाल र भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्ने गर्दछन् ।यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । भगवान महादेवले ब्रह्मा र विष्णुलाई सृष्टिको सृजना र पालनको छुटछुट्टै जिम्मेवारी दिएका थिए भने सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे ।
भगवान विश्वकर्माको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।
उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् । सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ । उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।
विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मुर्ती स्थापित गरि उक्त दिन पुजा गर्ने र भोलिपल्ट रितिपूर्वक नदी, ताल, तलैयामा मुर्ती सेलाउने चलन छ । आजको दिन यातायातका साधनहरुको विशेष पुजा गरिन्छ ।