‘मिथ्या सामग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँ’

‘मिथ्या सामग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँ’

युट्युब व्यवस्थापन, आचारसंहिता अभिमुखीकरण

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई संचारमाध्यमले समाचारका रुपमा नपस्कन ध्यानाकर्षण गराएका छन्।

युट्युब व्यवस्थापनका सन्दर्भमा काउन्सिलले आज (आइतबार) आयोजना गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै बस्नेतले मिथ्या र भ्रामक सामग्रीलाई संचारमाध्यमले समाचारका रुपमा पस्कन नहुनेतर्फ सबैको ध्यानाकर्षण गराएका हुन्।

मिथ्या सामग्रीलाई गोलमटोल रुपमा पस्किँदा आम जनमानसलाई भ्रम परेको र त्यसले संचारमाध्यमको विश्वसनीयतामै धक्का लागेकोतर्फ सबै सचेत हुनुपर्ने उनको धारणा थियो।

अध्यक्ष बस्नेतले झारा टार्ने ढंगले कसैले पनि पत्रकारिता गर्न नहुने सुझाए।

‘मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँ। माध्यम जुनसुकै होस्, तर अहिलेको खाँचो भनेको परिपक्व पत्रकारिताको हो। त्यसका लागि विवादरहित, जवाफदेही र जिम्मेवार भएर काम गर्नुपर्छ। अरुलाई प्रश्न मात्र उठाउने काम त सबैले गर्न सक्छ’ अध्यक्ष बस्नेतको भनाई थियो।

उनले अहिले युट्युबका कतिपय माध्यममा झारा टार्ने प्रवृत्ति देखिएको र त्यसले पत्रकारिताको पेसागत मूल्यमान्यतामाथि प्रश्न उठाउने काम गरेको उल्लेख गरे।

अहिलेको पत्रकारिता गाली बेइज्जतीकेन्द्रीत भएकोमा उनले चिन्तासमेत व्यक्त गरे।

उनले स्वस्थ र विवादरहित पत्रकारिता गरियो भने मात्र पेसागत मर्यादा कायम रहने बताए।

युट्युबमार्फत भइरहेको पत्रकारिता राम्रो हुन सके युट्युबकै गरिमा बढ्ने हुँदा पत्रकार आचारसंहिता र मर्यादाको ख्याल गर्न युट्युब संचालकहरुलाई उनको आग्रह थियो।

‘हामीले राम्रो गरेनौँ भने यो क्षेत्र पनि कहिल्यै राम्रो हुँदैन। हाम्रो पेसालाई कसैले राम्रो पनि भन्दैन। कस्तो गर्ने भन्ने हाम्रै हातमा छ। त्यसैले युट्युबमार्फत पत्रकारिता गर्ने हो भने यसको मर्यादामा रहनै पर्छ। मर्यादाभन्दा बाहिर गएपछि त्यो पत्रकारिता रहँदैन’, उनले भने।

प्रेस काउन्सिल नेपालले युट्युबमार्फत् संचारकर्म गरिरहेका तर पत्रकार आचारसंहिताको पालनामा कमजोर देखिएका युट्युब संचालकका लागि अभिमुखीकरण कार्यक्रम गर्दै आएको छ।

आइतबार भएको चौथो श्रृंखलामा अध्यक्ष बस्नेत, संचारविज्ञ डा. भानुभक्त आचार्य र प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले कार्यपत्र प्रस्तुत गरे।

कार्यपत्र प्रस्तुत गर्दै संचारविज्ञ डा. आचार्यले पत्रकारिता क्षेत्र विश्वसनीय र परिणाममुखी बनाउन पत्रकारले फिल्टर गरेर समाचार दिनुपर्ने र त्यसमा प्रेस काउन्सिलको सशक्त उपस्थिति रहनुपर्नेमा जोड दिए।

उनले युट्युबका माध्यमबाट हुने गरेको पत्रकारिताले सामाजिक उत्तरदायित्व बहन नगरेको औँल्याए।

समाचार दिने बेलामा नै पाठकलाई भ्रम छर्ने, गलत दिशानिर्देश गर्ने र समाजमा अपाच्य हुने विषयलाई फिल्टर गरेर दिन सक्नुपर्ने उनले उल्लेख गरे।

१३० वर्ष पुरानो छापा माध्यमबाट सुरु भएको पित पत्रकारिताको अभ्यास अहिले डिजिटल माध्यमबाट भइरहेको बताउँदै उनले यस्तो पत्रकारिता विश्वका कुनैपनि मुलुकका लागि उपयुक्त नहुने बताए।

कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत खनालले युट्युबको व्यवस्थापनका लागि काउन्सिलले गरेका पहल र त्यसको प्रगतिबारे जानकारी दिए।

युट्युब व्यवस्थापनका लागि काउन्सिलले गरिरहेको अभिमुखीकरण कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले युट्युबमार्फत पत्रकारिता गर्न चाहनेका लागि काउन्सिलले मार्गनिर्देश गर्नु दायित्व रहेको उल्लेख गरे।

त्यस्ता माध्यमलाई अभिलेख र दर्ता÷सूचीकरण प्रक्रियामा लैजाने र वैधानिक रूपमा पत्रकारिता कर्मका लागि प्रेरित गर्न काउन्सिलले काम गरिरहेको बताए।

विभिन्न युट्युबका ३० जना संचालक÷सम्पादकको सहभागिता रहेको कार्यक्रम काउन्सिलका सह–प्रशासकीय अधिकृत रामशरण बोहराले सहजीकरण गरेका थिए।

प्रतिक्रिया

भर्खरै