पोखरा । गण्डकी प्रदेशको लाइफलाइनको रुपमा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक विस्तारको काम अन्तिम चरणमा पुगेको छ ।सडकको पश्चिम खण्ड पोखरा–जामुनेको काम ८६ प्रतिशत पूरा भएको छ ।

पूर्वी खण्ड (जामुने–मुग्लिन)को काम पूरा गरी निर्माण कम्पनीले सडक हस्तान्तरण गरिसकेको छ । उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार तनहुँको मादी नदीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको छ । पाँच दशकअघि बनेको उक्त सडक विस्तार तथा स्तरोन्नतिको काम २०७८ वैशाखदेखि सुरु भएको थियो ।
आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले आगामी मङ्सिरभित्र काम सक्ने लक्ष्य लिइएको बताउनुभयो । “पश्चिम खण्डमा झण्डै पाँच किमी जति सर्भिस लेन कालोपत्र गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “रोड मार्किङ, ट्राफिक सङ्केत चिह्न राख्नेदेखि सडक सुरक्षासँग सम्बन्धित कामहरू धमाधम भइरहेको छ ।”
पोखरा महानगरपालिका–१० अमरसिँहचोकदेखि सेती पुलसम्म, तालचोक र बूढीबजार क्षेत्रमा सर्भिस लेन कालोपत्रका लागि तयारी भइरहेको इन्जिनियर कुँवरले बताउनुभयो । निर्माणको काम सकिएपछि पश्चिम खण्डमा पनि एक वर्षसम्म त्रुटि सच्चाउने अवधि (डिएलपी)को चरण रहने उहाँले बताउनुभयो । ३८ दशमलव आठआठ किमि दूरीको पश्चिम खण्डमा १८.५ किमी दूरीमा छ लेन र बाँकीमा चार लेनको सडक निर्माण भएको इन्जिनियर कुँवरले बताउनुभयो । यस खण्डमा पर्ने १३ पुलमध्ये १२ वटा पुल निर्माण भइसकेका छन् । पोखराको सेती नदीको ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको हो ।
तनहुँको जामुनेदेखि पर्यटकीय राजधानी पोखरा जोड्ने पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरू भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले सात अर्ब ४० करोड ४६ लाख रुपैंयाँमा पश्चिम खण्डको ठेक्का पाएको थियो । सडक विस्तारसँगै पोखराका साँघुरा चोकहरू पनि खुला र आकर्षक देखिएका छन् ।सडक स्तरोन्नति भएसँगै सङ्घीय राजधानी काठमाडौँ, चितवनलगायत गन्तव्यबाट पोखरासम्मको यातायात सेवा सहज बनेको छ ।