पोखरा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा युवा नेता तथा उद्यमी किरण केसीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कास्की क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित केसीले आफ्नो व्यावसायिक अनुभव र दक्षतालाई पार्टी तथा मुलुक निर्माणमा जोड्ने लक्ष्यका साथ उम्मेदवारी दिने निर्णय गरेका हुन्।

निजी क्षेत्र र राजनीतिक नेतृत्वबीच सार्थक संवाद बढाउँदै उद्यमशीलता र रोजगारीलाई नीतिगत प्राथमिकतामा लैजान आफूले प्रयास गर्ने उनले बताएका छन्। ‘मेरो उम्मेदवारी केवल एउटा पद प्राप्त गर्ने आकांक्षाका रूपमा होइन, युवाहरूलाई राजनीतिसँग जोड्ने, निजी क्षेत्र र राजनीतिक नेतृत्वबीच सार्थक संवाद बढाउने, उद्यमशीलता र रोजगारीका विषयलाई नीतिगत प्राथमिकतामा लैजाने तथा अनुभव र नयाँ सोचबीच पुल निर्माण गर्ने प्रयासका रूपमा अघि बढाउन चाहन्छु,’ केसीले भने।
कांग्रेसको इतिहासको सम्मान गर्दै अनुभवी पुस्ताको ज्ञान संरक्षण र नयाँ पुस्तालाई निर्णय प्रक्रियामा अर्थपूर्ण स्थान दिनु आजको आवश्यकता रहेको उनको भनाइ छ। महाधिवेशनले पार्टीभित्र नयाँ बहस, ऊर्जा र आशाको वातावरण निर्माण गर्ने अपेक्षा उनले व्यक्त गरे। ‘यस महाधिवेशनले पार्टीभित्र नयाँ बहस, नयाँ ऊर्जा र नयाँ आशाको वातावरण निर्माण गरोस्, लाखौँ नेता तथा कार्यकर्ताको योगदानलाई सम्मान गर्दै आम नागरिकसँगको सम्बन्ध अझ बलियो बनाउने दिशामा नेपाली कांग्रेस अघि बढोस् भन्ने मेरो अपेक्षा छ,’ उनले थपे, ‘यही सोच, उद्देश्य र आफ्नो व्यावसायिक अनुभवलाई पार्टी तथा राष्ट्र निर्माणमा उपयोग गर्ने प्रतिबद्धतासहित मैले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु।’