पाेखराकाे पुम्दीभुम्दीमा तेस्राे संस्करणको पर्वतीय दाैडको तयारी

पाेखराकाे पुम्दीभुम्दीमा तेस्राे संस्करणको पर्वतीय दाैडको तयारी

नाम दर्ताको समय असाेज २१ सम्म

race

पोखरा । पाेखरा २२ पुम्दीभुम्दीमा हुने  तेस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । आगामी शनिबार हुने प्रतियोगिताका लागि  १८ जिल्लाका ८० बढी धावकले नाम दर्ता गराइसकेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतियोगिताका लागि असोज २१ गते राति १२ बजेसम्म पोखरा क्लिक अनलाइनमार्फत नाम दर्ता गर्न सकिने आयोजकले जनाएका छन् । खेल पर्यटन मार्फत् ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताउनुभयो । पोखरा आसपासका सम्भावित ग्रामीण पर्यटकीय गन्तव्यको पहिचान गरी बजार क्षेत्रमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रसँग जोड्न पर्वतीय दौड प्रभावकारी माध्यम बन्ने उहाँको भनाइ छ ।

पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित असोज २४ गते शनिबार प्रतियोगिता आयोजना गर्न लागिएको सो अवसरमा जानकारी गराइयो । विश्वशान्ति स्तूपबाट सुरु हुने दौड पुम्दीकोटस्थित विशाल महादेवको मूत्र्ति परिक्रमा गर्दै पोखरा–२२ को वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर सम्पन्न हुनेछ । आठ किलोमिटर दूरीको दौडमा खुला, वडास्तरीय खुला, महिला, यू–१६, विदेशी र भेट्रान्स गरी छ विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । यस्तै प्रतियोगितामा दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः ३० हजार, १५ हजार, सात हजार र तीनहजार रुपैयाँ प्राप्त गर्ने पत्रकारसम्मेलनमार्फत् जानकारी गराइयो । प्रतियोगितामा छैटौँदेखि दशौँ स्थानसम्म दूरी पूरा गर्ने धावकलाई जनही एकहजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

वडास्तरीय खुला, महिला र यू–१६ विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १५ हजार, सात हजार र तीनहजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विदेशी धावकतर्फ विजेताले १५ हजार र उपविजेताले सात हजार रुपैयाँ पाउनेछन् भने भेट्रानतर्फ विजेतालाई १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकद्वारा वितरित विज्ञप्तिमा उल्लेख छ । पोखरा महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष हिमलाल बरालले तालवारी लेकसाइड, लेकसाइडको तालपारि रहेको पुम्दी–भुम्दी क्षेत्रको खेल पर्यटन प्रवद्र्धनमा पर्वतीय दौडले महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

उहाँले प्रतियोगिताले उक्त क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन सहयोग पुग्ने उल्लेख गर्दै प्रतियोगितालाई सफल बनाउन वडा कार्यालयलेसमेत अपनत्व लिएको बताउनुभयो । वडा अध्यक्ष बरालले पोखरा–२२ मा निर्माण भइरहेका पदमार्गले आगामी दिनमा पोखरा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो । साथै उहाँले उक्त दौडलाई वडाले आफ्नो पुंजिको रुपमा लिने बताउनु भयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्वतीय दौड प्रतियोगिता आयोजकको मात्र नभई पोखराका सम्पूर्ण पर्यटन व्यवसायीसमेतको अपनत्वको कार्यक्रम भएको बताउनुभयो । अन्तर्राष्ट्रियस्तरमा नेपाललाई पदक दिलाएका धावकहरू प्रतियोगितामा सहभागी भएको अवस्थामा आवश्यक आतिथ्य सेवा उपलब्ध गराउने घोषणा गर्दै उहाँले भन्नुभयो, ‘खेलाडी र खेल पर्यटनलाई प्रोत्साहन गर्न पर्यटन व्यवसायीहरू प्रतिबद्ध छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पर्वतीय दौडले खेल क्षेत्रसँगै स्थानीय अर्थतन्त्र र कृषि क्षेत्रकोसमेत प्रवद्र्धनमा योगदान पुर्‍याउने बताउँदै प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयाे । उहाँले हाल कायम आठ किलोमिटर दूरीलाई आगामी संस्करणमा थप विस्तार गर्न सुझाव दिनुभयो । कालाबाङ घरेडी बुद्ध पार्क समितिका अध्यक्ष राज गुरुङ ‘लाल’ले प्रतियोगिताले पुम्दी–भुम्दीको मात्र नभई समग्र पोखराको खेल तथा पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएको बताउनुभयो । उहाँले यस वर्षको प्रतियोगितालाई थप भव्य र व्यवस्थित बनाउन समितिकातर्फबाट आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

भर्खरै