रसुवा बाढीमा ज्यान गुमाएका नागरिकका परिवारलाई गण्डकी सरकारले जनही १ लाख दिने

रसुवा बाढीमा ज्यान गुमाएका नागरिकका परिवारलाई गण्डकी सरकारले जनही १ लाख दिने

Jit-Sherchan

पोखरा । रसुवा बाढीमा ज्यान गुमाएका गण्डकी प्रदेश नागरिकका परिवारलाई गण्डकी प्रदेश सरकारले १ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् कोषमार्फत राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने घोषणालाई बैठकले अनुमोदन गरेको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री तथा सरकारका प्रवक्ता जितबहादुर शेरचनका अनुसार बाढीमा परी ज्यान गुमाएका मृतकका परिवार र बेपत्ता भएका व्यक्तिका परिवारलाई जनही लाख रुपैयाँ दिने निर्णय भएको छ । ‘मृतकका परिवार र बेपत्ता परिवारलाई हामीले जनही १ लाख रुपैयाँ दिने घोषणा गरेका छौं,’ उनले भने । बाढीका कारण प्रदेशका नागरिक प्रभावित भएपछि प्रदेश सरकारले तत्काल राहत र उद्धारलाई प्राथमिकतामा राखेर यो कदम चालेको हो । बाढी प्रभावित क्षेत्रमा बाटो अवरुद्ध भएका कारण घाइते तथा बिरामी परेर हवाई मार्गबाट पोखरा आएका नागरिकलाई घरसम्म ल्याउने व्यवस्था पनि प्रदेश सरकारले गरेको छ । ‘कृष्णभीर लगायतका ठाउँमा बाटो अवरुद्ध भएका कारण हवाई मार्गबाट पोखरा आएका बिरामीलाई घरसम्म ल्याउने व्यवस्था पनि सरकारले गरेको छ,’ मन्त्री शेरचनले भने ।

यसैगरी बाढीमा परि घाइते भएका नागरिकको उपचारका लागि पनि प्रदेश सरकारले आर्थिक सहायता घोषणा गरेको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका घाइतेहरुलाई ५०–५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइनेछ । ‘घाइतेहरु जुन जुन अस्पतालमा उपचार गराइराख्नुभएको छ, उहाँहरुलाई ५०–५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ,’ उनले बताए । यसैगरी किरिया खर्चवापत प्रति मृतक २५ हजार उपलब्ध गराउने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया