एमाले पोखरा–५ को तीज कार्यक्रम स्थगित, संकलित रकम विपद् राहत कोषमा जम्मा गर्ने

एमाले पोखरा–५ को तीज कार्यक्रम स्थगित, संकलित रकम विपद् राहत कोषमा जम्मा गर्ने

_cpn-uml-1

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी–५ ले यस वर्ष आयोजना गर्ने भनिएको तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ। देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण धनजनको क्षति भइरहेका बेला वडा कमिटीले आकस्मिक बैठकमार्फत कार्यक्रम स्थगित गर्ने निर्णय गरेको अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए ।

वडा कमिटीले विपद्का कारण पीडित नागरिकको उद्धार, राहत तथा सहयोगलाई प्राथमिकता दिँदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने जनाएको छ। तीज विशेष कार्यक्रमका लागि संकलन गरिएको रकमलाई सरकारले आह्वान गर्ने विपद् राहत व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णयसमेत वडा कमिटीले गरेको छ।

वडा कमिटीले विपद्को यस कठिन समयमा सबै राजनीतिक दल, संघ–संस्था, सामाजिक अभियन्ता तथा आम नागरिक एकजुट भई पीडितको उद्धार र राहतमा जुट्न अपील गरेको छ। अध्यक्ष  बरालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “विपदमा राजनीति होइन, मानवता र सहयोग पहिलो प्राथमिकता हो । पीडितको साथमा सबै जुटौँ।”

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds