रसुवाकाे टिमुरे लगायतका क्षेत्रमा भीषण बाढी

रसुवाकाे टिमुरे लगायतका क्षेत्रमा भीषण बाढी

rasuwa-badi

रसुवा । रसुवामा अचानक आएको ठूलो बाढीले तटीय क्षेत्रमा क्षति पुर्‍याएको छ । केही समय आएको बाढीले बस्ती तथा बजार क्षेत्रमा ठूलो क्षति गरेको प्रारम्भिक विवरण आएको छ । रसुवाका डिएसपी अशोक थापाले गत वर्षको भन्दा कम्तीमा १० गुणा ठूलो विनाशकारी बाढी आएको बताए ।

उनले जनधनको ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरेका छन् । जिल्ला प्रहरीबाट कोहीसँग् पनि सम्पर्क गर्न नसकिएको र दर्जनौं बस्तीका साथै बजारहरु बगाएको उनले बताएका छन् । तटीय क्षेत्रमा रहेका सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि सम्पर्कमा आएका छैनन् । आज बिहान ९ बजे रसुवा जिल्लाको टिमुरे बजारमा आकस्मिक बाढी आएको पाइएको छ । टिमुरे बजारका बस्तीमा ठूलो क्षति भएको छ ।

रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गएलगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको छ । साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ ।

साथै बाढीबाट थप प्रभावित हुनसक्ने अन्य नागरिकलाई सुरक्षित स्थानमा सर्न पनि निरन्तर सूचना प्रवाह समेत गरिरहेको छ । बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्नरनगराउन आग्रह समेत गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिएलगत्तै सरोकारवाला निकायहरुले आफ्ना संयन्त्रहरु परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका हुन् । जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाइसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् ।

साथै नेपाली सेनाले पनि आफ्नोतर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको छ । प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ । साथै निजी कम्पनीका हेलिकप्टरहरुलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ ।

अहिले सिंहदरबारस्थित गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ । साथै प्रधानमन्त्री शाहले सोही सम्बन्धमा केही बेरमा अर्थात् बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

बाढी पूर्वानुमान महाशाखाले चीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढी हाल धादिङ-गल्छी आसपास पुगेको जनाएको छ । अबको केही घण्टामा मुग्लिन पार हुने क्रममा रहेको हुँदा पृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट राजमार्गलगायत त्रिशूली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया