पोखरा । पोखरा बसपार्क क्षेत्रमा लामो समयदेखि बसोबास गरिरहेका सुकुम्बासी बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अर्को सातादेखि अघि बढ्ने भएको छ । वडा तहको सहजीकरण समितिले दाबी–विरोध र आवश्यक छानबिनपछि ५ सय ६७ परिवारको अन्तिम नामावली तयार पारेको छ । वडा समितिको सोमबार बसेको बैठकले उक्त प्रतिवेदनलाई पारित गरी आवश्यक सिफारिससहित महानगरपालिकामा पठाउने निर्णय गरेको छ ।

बसपार्क क्षेत्रमा रहेका भूमिहीन र अव्यवस्थित बसोबासीको अन्तिम संख्या टुंगो लागेसँगै स्थानान्तरणको बाटो खुलेको हो । अन्तिम विवरण अनुसार ३ सय २५ परिवार भूमिहीन सुकुम्बासी र २ सय ४२ परिवार अव्यवस्थित बसोबासीका रुपमा सूचीकृत भएका छन् । भूमिहीनमध्ये १ सय ४४ परिवार भूमिहीन दलित र १ सय ८१ परिवार भूमिहीन सुकुम्बासी रहेको वडा समितिले जनाएको छ ।
यसअघि संकलन गरिएको प्रारम्भिक विवरणको तुलनामा अन्तिम सूचीमा संख्यात्मक फेरबदल देखिएको छ । सुरुमा ५ सय ६४ परिवारले निवेदन दिएका थिए । प्रारम्भिक विवरणमा भूमिहीन दलित २ सय, भूमिहीन सुकुम्बासी २ सय ४८ र अव्यवस्थित बसोबासी १ सय १६ जना थिए । वडाले प्रकाशन गरेको सूचनामाथि परेका दाबी–विरोध र संशोधनका निवेदनमाथि छानबिन गर्दा सुकुम्बासीको संख्या घटेको छ भने अव्यवस्थित बसोबासीको संख्या बढेको छ ।
वडा समितिले सिफारिस गरेको यो प्रतिवेदनमाथि अब पोखरा महानगरपालिकाको कार्यपालिका बैठकमा छलफल हुनेछ । महानगरले यसै साता उक्त नामावलीलाई जिल्ला समितिमा सिफारिस गर्ने तयारी गरेको छ । जिल्ला समितिबाट आवश्यक प्रक्रिया पुरा भएपछि अर्को सातादेखि बसपार्क क्षेत्रबाट बस्ती स्थानान्तरण गर्ने कार्य सुरु गरिनेछ ।