पोखरा । पोखरा र दुबईबीचको सिधा हवाई उडानलाई दिगो बनाउने विषयमा पर्यटन व्यवसायीले यूएईका राजदूतसँग छलफल गरेका छन् । उनीहरुले पोखराबाट हुने नियमित उडानलाई सफल पार्न आवश्यक सहकार्यका लागि राजदूतको ध्यानाकर्षण गराए । पोखरा–दुबई उडान समग्र नेपाल र गण्डकी प्रदेशको पर्यटन विकासका लागि एउटा ऐतिहासिक उपलब्धि भएको व्यवसायीले बताए । यो उडानलाई सफल र प्रभावकारी बनाउन सबै पक्षबाट पहल र सहकार्य गर्ने विषयमा छलफल केन्द्रित भयो ।

छलफलका क्रममा व्यवसायीले पर्यटक भिसामा दुबई जाने नेपाली यात्रुका लागि पिसिसी अनिवार्य गर्ने प्रक्रिया तत्काल हटाउन राजदूतसमक्ष विशेष अनुरोध गरे । दुबई जाने कामदारका लागि लागू गरिएको पिसिसी प्रक्रिया तत्काल हटाउन सम्भव नभए पनि पर्यटकका लागि यो व्यवस्था बाधक बनेको उनीहरुको भनाइ थियो । यस विषयमा राजदूतले सकारात्मक प्रतिक्रिया दिएको सहभागीले बताए । यो हवाई सम्पर्कलाई दिगो बनाउन गण्डकी प्रदेश सरकार, स्थानीय सरकार र निजी क्षेत्रले आफ्नो ठाउँबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
छलफलमा पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठ सहभागी थिए । यस्तै नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी र होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरेको पनि सहभागिता थियो । नाटाका केन्द्रीय अध्यक्ष भरतजंग पाण्डे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र नाटा गण्डकी प्रदेशका कार्यकारी सदस्य विजय पौडेलले पनि उडान सफल बनाउने विषयमा आफ्नो धारणा राखे । व्यवसायीले सबै सम्बन्धित पक्षको साझा प्रयासबाट मात्र यो उडान सफल र दिगो हुने कुरामा जोड दिए ।