पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा एक दिवसीय घरबास ब्यवस्थापन तालिम सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे ६, स्थित धिताल सामुदायिक होमस्टेमा आइतबार सम्पन्न तालिममा ४५ जनाको सहभागिता रहेको भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्यालले जानकारी दिए । गाउँ पर्यटनको प्रभावकारिता अभिबृद्धिका लागि घरबास ब्यवस्थापन आवश्यकता महसुस गर्दै तालिम आयोजना गरिएको उनको भनाई थियो । अध्यक्ष अर्यालले ग्रामीण क्षेत्रमा पर्यटनको विकास गर्न र स्थानीय बासिन्दालाई दक्ष बनाउन विभिन्न किसिमका तालिमहरू सञ्चालन गरिने बताए ।

तालिममा टीकाराम सापकोटा, रवीन्द्र राज पौडेल, दीपेन्द्र पहारी, सीता चौधरीलगायतले प्रशिक्षण दिएका थिए । तालिमलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले यस किसिमको तालिमले गाउँ पर्यटनको विकासमा विशिष्ट योगदान गर्ने बताए । उनले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे । अतिथि देवो भव मान्ने नेपालीको सस्कार भएको बताउँदै उनले प्राकृतिक सौन्दर्य, ग्रामीण जीवनशैली, संस्कृति, आतिथ्यता (हस्पिटालिटी) लगायतले पाहुनालाई आकर्षित गर्न सकिने बताए । उनले पर्यटन प्रवद्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाइने उनको भनाई छ । माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले समग्र पालिकामा गाउँ पर्यटनको धेरै सम्भावना रहेको बताइन ।
ग्रमिण पर्यटन आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा रहेको उल्लेख गर्दै उनले प्राकृतिक, सांस्कृतिक तथा ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोडेर रोजगारी सिर्जना गर्न सकिने बताइन् । पालिकाले पर्यटन प्रवद्धनका गतिविधिहरुलाई प्राथमिकतामा राखेको उनको भनाई थियो । पोखरा पर्यटन परिषदका अध्यक्ष तथा संस्थापक अध्यक्ष तारानाथ पहारीले होमस्टे संचालन भएका गाउँमा कृषि तथा पशुपालनमा राज्यको ध्यान पुग्नुपर्ने बताए ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष टेकनाथ गौतम, नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यक्रम प्रमुख युवराज गुरुङ, , निवर्तमान अध्यक्ष शोभा सापकोटा, उपाध्या विश्वराज अधिकारी, सचिव भीमराज पौडेललगायतले बोलेका थिए । तालिममा सहभागीहरुले होमस्टे सञ्चालन, आतिथ्य सत्कारसम्बन्धी नयाँ नयाँ कुराहरु सिक्ने अवसर मिलेको बताउदै आगामी दिनमा अन्य तालिमहरु सन्चालन गरिदिन आग्रह गरेका थिए । गाउँ पर्यटन प्रवर्द्धन मञ्च ( भिटोफ ) ले ग्रामीण क्षेत्रमा पर्यटनको विकास गर्न र स्थानीय बासिन्दालाई दक्ष बनाउन विभिन्न किसिमका तालिमहरू सञ्चालन गर्दै आएको छ।