पोखराका उद्योगी व्यवसायीलाई चुनाव लाग्यो

पोखराका उद्योगी व्यवसायीलाई चुनाव लाग्यो

बर्तमान उपाध्यक्ष बलराम आचार्य र महासचिव शोभा गौतम प्यानल बनाएर चुनावी मैदानमा

780702097_1056426706977248_7421102450624093715_n

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आगामी ३६ औं महाधिवेशन तथा ७२ औं साधारण सभाको मिति नजिकिएसँगै पोखराका उद्योगी र व्यवसायीहरूबीच चुनावी सरगर्मी बढेको छ । यही भदौ २० र २१ गते हुने अधिवेशनमा संघको नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

वर्तमान उपाध्यक्ष बलराम आचार्य र वर्तमान महासचिव शोभा गौतम आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएपछि चुनावी माहोल तातिएको हो । अध्यक्षमा शोभा गौतम, बलराम आचार्य त्यसैगरी वर्तमान वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य र पूर्वमहासचिव अर्जुन पोखरेलको पनि नाम चर्चामा छ । निर्वाचन तालिका अनुसार आज शुक्रबार उम्मेदवारको मनोनयन वितरण र भदौ ८ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

‘समावेशी टिम, जुझारु नेतृत्व–सबल संघ, समृद्ध पोखरा’ भन्ने नाराका साथ शोभा गौतमको टिमले शुक्रबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी र प्रतिबद्धताहरू सार्वजनिक गरेको हो । शोभा गौतम प्यानलको वरिष्ठ उपाध्यक्षमा टीकाराम सुवेदी, उद्योग उपाध्यक्षमा सौगात थापा वाणिज्य उपाध्यक्षमा भीम गौतम, महासचिवमा तारानाथ ढुङ्गाना, कोषाध्यक्ष जीवनप्रकाश श्रेष्ठ, उपमहासचिवमा यादव पोखरेल छन् । बलराम आचार्य प्यानलमा वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्षमा ललित कुँवर, वाणिज्य उपाध्यक्षमा मनोज श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, उपमासचिवमा प्रदीपराज भण्डारी र कोषाध्यक्षमा देवेन्सन प्रजुको चर्चा छ । आचार्य प्यानलको नाम औपचारिक रुपमा घोषणा गरिएको छैन भने आज भोलिमा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

गौतम टिमले बदलिँदो आर्थिक परिवेश र व्यवसायीले भोगिरहेका नयाँ चुनौतीहरूलाई सम्बोधन गर्न आफ्ना प्राथमिकताहरू अघि सारेको छ ।उद्योगी–व्यवसायीका वास्तविक समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने, स्थानीय उत्पादन, स्थानीय उद्यम र स्थानीय बजारलाई पहिलो प्राथमिकता दिने, युवा तथा महिला उद्यमीहरूलाई विशेष प्रोत्साहन र प्रवद्र्धन गर्ने, लगानीमैत्री वातावरण निर्माणका लागि सरकार तथा सम्बन्धित निकायहरूसँग प्रभावकारी सहकार्य र पैरवी गर्ने, संघलाई प्रविधिमैत्री, आधुनिक, पारदर्शी र अझ बढी प्रभावकारी संस्थाको रूपमा विकास गर्ने लगायत प्राथमिकतामा छन् ।

उद्योग वाणिज्य संघको चुनावमा सदस्य पदमा मनोहरि पौडेल, अमृत पोखरेल, सूर्यराज घिमिरे, दुर्गा बराल, नवीन नापित, राम कँडेल, दूधमान गुरुङ, कमलबहादुर सुनार, एकनारायण गौतम र भानुभक्त अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । विगत सात दशकदेखि पोखराको सामाजिक, आर्थिक र व्यावसायिक विकासमा अग्रणी भूमिका खेल्दै आएको पोखरा उद्योग वाणिज्य संघको यो निर्वाचनलाई पोखराका समग्र व्यवसायीहरूले चासोका साथ हेरेका छन् । चुनावी परिणाम कसको पक्षमा जान्छ कौतुहल पूर्ण बनेको छ ।

प्रतिक्रिया

भर्खरै