पोखरा । भारतीय सेनाका प्रमुख धीरज सेठले भारतीय सेनामा सेवा गरेका गोरखा भूतपूर्व सैनिकहरू भारत र नेपालबिचको ऐतिहासिक मित्रता, विश्वास र सम्बन्धका जीवित प्रतिनिधि भएको बताउनुभएको छ । चारदिने नेपाल भ्रमणका क्रममा पोखरा आउनु भएका सेठले भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालय पोखरामा आज बुधबार आयोजित कार्यक्रममा बोल्दै गोरखा सैनिकको वीरता, त्याग र योगदानले भारत–नेपाल सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

सेठले भारतीय सेनामा आफ्नो जवानी समर्पित गरेका भूतपूर्व सैनिकहरूसँग प्रत्यक्ष भेट गर्न पाउनु आफ्ना लागि गर्वको क्षण भएको बताउनुभयो । “तपाईंहरू केवल भूतपूर्व सैनिक मात्र होइन, भारत र नेपालबीचको मित्रता र विश्वासका जीवित प्रतिनिधि हुनुहुन्छ,” उहाँले भन्नुभयो,“तपाईंहरूको सेवा र बलिदानको सम्मान गर्नु तथा तपाईंहरूको कल्याणको ख्याल राख्नु हाम्रो प्रमुख जिम्मेवारी हो।”
गोरखा सैनिकले बहादुरी, वफादारी र बलिदानमार्फत विश्वभर छुट्टै पहिचान बनाएको उल्लेख गर्दै उहाँले भारतीय सेनासँग गोरखा सैनिकको सम्बन्ध गौरवमय इतिहासले भरिएको बताउनुभयो । भारत र नेपालबीचको सम्बन्ध दुई छिमेकी मुलुकबिचको सम्बन्ध नभई संस्कृति, परम्परा, धार्मिक आस्था र इतिहाससँग जोडिएको गहिरो सम्बन्ध भएको उहाँको भनाइ थियो । भगवान् राम र माता सिताको सम्बन्ध, पशुपतिनाथ र काशीजस्ता धार्मिक स्थलप्रतिको साझा आस्था तथा खुला सिमाबाट जनस्तरमा कायम रहेको सम्बन्धले दुई देशलाई नजिक बनाएको उहाँको भनाइ थियो ।
सेठले नेपालमा रहेका भूतपूर्व सैनिक तथा उनीहरूका परिवारको स्वास्थ्य र कल्याणलाई भारतीय सेनाले प्राथमिकतामा राखेको बताउनुभयो । कोहलपुरमा नयाँ इसिएचएस पोलिक्लिनिक सञ्चालनमा आएको उल्लेख गर्दै उहाँले पश्चिम नेपालका भूतपूर्व सैनिकले अब स्वास्थ्य उपचारका लागि काठमाडौँ, बुटवल र पोखरासम्म धाउनुपर्ने अवस्था धेरै हदसम्म कम हुने बताउनुभयो । पोलिक्लिनिकलाई आधुनिक मेडिकल उपकरणसहित थप व्यवस्थित र प्रभावकारी बनाउने काम अघि बढाइने उहाँको भनाइ थियो । नेपालमा सन् २०१४ देखि सञ्चालनमा रहेको इसिएचएस योजनाबाट भूतपूर्व सैनिक तथा परिवारले भारत र नेपालका विभिन्न अस्पतालमा उपचार सुविधा लिन सक्ने बताउनुभयो ।
भूतपूर्व सैनिकले माग गर्दै आएको सुनौलीदेखि गोरखपुरसम्मको बस सुविधाबारे पनि गम्भीरतापूर्वक विचार भइरहेको उहाँले बताउनुभयो । बस सुविधा उपलब्ध गराउन पहल गरिने र यसबाट सिएसडी लगायतका सुविधामा पहुँच सहज हुने उहाँको भनाइ थियो । भूतपूर्व सैनिकका परिवारका सदस्यलाई रोजगारी तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन विभिन्न जिल्ला सैनिक बोर्डमार्फत सीपमूलक तालिम सञ्चालन भइरहेको उहाँको भनाइ छ । नेपालमा रहेका भूतपूर्व सैनिकको कल्याण र सुविधाका लागि भारतीय सेनाले आगामी दिनमा पनि कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सेठले उनीहरूलाई कहिल्यै एक्लो नसम्झन आग्रह गर्नुभयो । “भारतीय सेना सधैँ तपाईंहरूको साथमा छ र आगामी दिनमा पनि हरेक सम्भव सहयोग र सहायता प्रदान गरिरहनेछ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा वीरगति प्राप्त गरेका गोरखा भारतीय सैनिकका श्रीमतीलाई वीर नारीबाट सम्मान गर्नुका साथै विभिन्न बहादूरी पदक प्राप्त गरेका भूतपूर्व गोरखा सैनिकलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा जिम्मेवारी निर्वाह गर्दा घाइते भएका भूतपूर्व गोरखा सैनिकलाई अपाङ्ग मैत्री स्कुटर प्रदान गरिएको थियो । कार्यक्रममा पोखरा तथा पश्चिम नेपालका विभिन्न क्षेत्रबाट आएका भारतीय गोरखा भूतपूर्व सैनिक र परिवारहरुको सहभागिता थियो । चार दिने नेपालको औपचारिक भ्रमणमा आउनुभएका भारतीय सेना प्रमुख सेठ आज बुधबार स्वेदश फर्किने कार्यक्रम छ ।