कास्कीमा साउन महिनामा १ सय ६८ वटा मुद्दा दर्ता

कास्कीमा साउन महिनामा १ सय ६८ वटा मुद्दा दर्ता

police office kaski

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीमा गत साउन महिनामा १ सय ६८ वटा विभिन्न मुद्दाहरू दर्ता भएका छन् । प्रहरीका अनुसार २० वटा जघन्य तथा गम्भीर अपराध, १३ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराध, ५३ वटा आर्थिक अपराध र ८२ वटा अन्य अपराध रहेका छन् ।

यी मुद्दाहरूमा संलग्न १ सय ८१ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवम सूचना अधिकारी विरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । अदालतको फैसला कार्यान्वयनतर्फ लामो समयदेखि फरार रहेका ६७ जना प्रतिवादीहरू (५८ पुरुष र ९ महिला) लाई पक्राउ गरिएको छ । उनीहरूबाट ८ वर्ष ७ महिना ११ दिन कैद भुक्तान गराउनुका साथै ३७ लाख ९६ हजार ५२० रुपियाँ बिगो रकमसमेत असुल उपर गरिएको प्रहरीले जानकारी दिएको छ । कास्की प्रहरीले केही ठूला र सङ्गठित अपराधका गिरोहलाई नियन्त्रणमा लिन सफल भएको दाबी गरेको छ । अनलाइन स्क्याम (ठगी) पोखराको प्रस्याङमा ओएसिस टुरिजम इन्टरनेसनल नामक संस्था खोलेर एसिया र युरोपका देशहरूमा घुम्न लैजाने प्रलोभनमा पारेर ३० जना व्यक्तिहरूबाट ९ लाख ६५ हजार रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न एक भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरिएको छ।

पोखराका विभिन्न खाजाघरहरूमा आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई प्रलोभनमा पारेर अनैतिक कार्यमा लगाउने ५ जना महिला सञ्चालकहरूलाई पक्राउ गरी ३ जना बालिकाको उद्धार गरिएको छ । साउन महिनामा लागुऔषधका ११ वटा मुद्दा दर्ता भई २० जना (२ महिला र १८ पुरुष) पक्राउ परेका छन्। उनीहरूको साथबाट ठुलो परिमाणमा ब्रुफिन, डाइजापाम, फेनारगन, खैरो हिरोइन (ब्राउनसुगर), गाँजा र १० हजारभन्दा बढी ट्यापेन्डाडोल ट्याबलेटहरू बरामद गरिएको छ ।

प्राकृतिक रूपमा उम्रिएका ९ हजार ९ सय १५ वटा गाँजाका बोटहरू नष्ट गरिएको छ । सामाजिक हिंसा सम्बन्धी १ सय वटा ठाडो उजुरीहरू प्राप्त भएकोमा घरेलु हिंसातर्फ ३८ वटा उजुरी परेकोमा ११ वटामा मिलापत्र गराइएको र १० वटा अदालत वा अन्य कार्यालयमा पठाइएको छ ।
साउन महिनामा ८ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु र ५ जना घाइते भएका छन् । तीव्र गतिका कारण ६ वटा र मादक पदार्थ सेवन (मापसे) का कारण १ वटा दुर्घटना भएको प्रहरी विश्लेषण छ । चेकिङका क्रममा ५ हजार ९ सय ४४ वटा सवारी साधनलाई कारबाही गरी कुल ४८ लाख २ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ ।

नवीन कार्य अपराध न्यूनीकरणका लागि प्रहरीले समुदाय र विद्यालयहरूमा १ सय ७९ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको छ । विकृति विसङ्गति रोक्न र सुरक्षाको अनुभूति दिलाउन ‘स्विप अप्रेसन’ जस्ता विशेष अभियानहरूलाई निरन्तरता दिइएको सूचना अधिकारी पासवानले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै