पोखरा । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि बन्द गरिएको छ। निरन्तरको वर्षाका कारण दृश्य क्षमता (भिजिबिलिटी) कम भएपछि जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म यात्रु उडान स्थगित गरिएको हो।

जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार नियमित उडान गर्दै आएका निजी वायुसेवा कम्पनी यती एयरलाइन्सको भगिनी संस्था तारा एयर र समिट एयरले सेवा स्थगित गरेका छन्। विमानस्थल प्रमुख पोखरेलले भन्नुभयो, “बर्खा र जाडोयाममा हवाई उडान नियमित हुँदैन। आपत्कालीन र चार्टर उडान भने आवश्यकताअनुसार हुन सक्छ।”
उहाँका अनुसार भदौको पहिलो सातादेखि नियमित उडान सुरु गर्ने जानकारी निजी वायुसेवा कम्पनीले दिएका छन्। बर्खाको समयमा खराब मौसमसँगै पर्यटकको चहलपहलसमेत घट्ने गरेको छ। जोमसोममा एयरलाइन्स कम्पनीले ट्विनअटर जहाजमार्फत यात्रु ओसारपसार गर्दै आएका छन्। अत्यधिक हावाहुरी र प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम उडान सामान्यतया बिहानको समयमा मात्र सञ्चालन हुने गरेको छ।
नियमित यात्रुबाहक हवाई सेवा बन्द भए पनि धार्मिकस्थल मुक्तिनाथ मन्दिर र दामोदर कुण्ड क्षेत्रको भ्रमणमा जाने धार्मिक पर्यटक भने आइरहेका छन्। मुस्ताङका धार्मिकस्थल भ्रमणमा जाने पर्यटक बोकेर जाने हेलिकप्टरमा अनिवार्य रूपमा एक जना सुरक्षा निकायका प्रतिनिधि रहने व्यवस्था छ।
छोटो समयका लागि मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकले हवाई मार्ग रोज्ने गरे पनि पछिल्लो समय सडक सञ्जाल सहज बनेपछि हवाई यात्रुको चाप घटेको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले बताउनुभयो। निजी वायुसेवा कम्पनीबाहेक नेपाली सेनाले आफ्ना सामग्री ढुवानी तथा चार्टर उडानसमेत गर्दै आएको छ।