गण्डकी प्रदेश सरकारको बजेट पारित

गण्डकी प्रदेश सरकारको बजेट पारित

gandaki-ण्डकी-प्रदेशको-बजेट-पारित

पोखरा । गण्डकी प्रदेश सभामा यही असार १ गते प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश सभाबाट आइतबार पारित भएको छ । सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८३ र गण्डकी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतबाट पारित भएका हुन् ।

त्यसअघि बजेटको मन्त्रालय छलफलमा मन्त्री र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आआफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुभएको थियो । मुख्यमन्त्री पाण्डेले आगामी वर्षको बजेट वास्तविक धरातलमा आधारित भएर बजेट बनेको जनाउँदै त्यसले सकारात्मक परिणाम दिने उल्लेख गर्नुभयो । “हामी सुशासन र मितव्ययितामा गण्डकीलाई नमुना प्रदेशका रूपमा बनाउन लागेका छौँ,” उहाँले भन्नुभयो, “यसबाट सकारात्मक परिणाम प्राप्त हुन्छ नै । आगामी वर्षको बजेटले प्रदेशवासीका आकाङ्क्षा पूरा गर्न सीमित स्रोतबाट अधिकतम प्रयत्न गरेको उहाँको भनाइ छ ।

प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले मन्त्रालयका आयोजनामा आवश्यकताका आधारमा बजेट विनियोजन भएको तर्क गर्नुभयो । उहाँले रुग्ण र समस्याग्रस्त आयोजनाबारे कदम चाल्न जरुरी भइसकेको औँल्याउनुभयो । “रुग्ण र समस्याग्रस्त आयोजनाबारे उचित निर्णय लिन संसदीय समिति वा अरू विज्ञसहितको समितिबाट अध्ययन गरी कदम चाल्न जरुरी भइसकेको छ,” उहाँले भन्नुभयो । उहाँले अहिलेसम्म यातायातको पहुँच नपुगेका प्रदेशका दुई पालिका नार्पाभूमि र चुमनुब्रीमा सडक पु¥याउन बजेट विनियोजन भएको जानकारी दिनुभयो ।

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले पुराना आयोजना सक्ने, प्रविधिमा जोड दिने र चालु खर्च घटाउने दिशामा बजेटले काम गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “आगामी वर्षको बजेट परम्परागत पनि छ, आवश्यकता सम्बोधन गर्न आधुनिक पनि छ ।” मन्त्री शेरचनले कृषि र पर्यटनमा केही नयाँ योजना सुरुवात हुने जनाउँदै उहाँले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन बजेटले सघाउने जनाउनुभयो । त्यसअघि छलफलमा प्रदेश सभा सदस्यहरू प्रकाश बराल, कुसुम बुढा पुन, दमयन्ती रुचाल, देवका पहारी विन्दु पौडेल र हरिबहादुर भण्डारीले भाग लिनुभएको थियो । गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट ल्याएको छ ।

प्रतिक्रिया