रुपा । कास्कीको रूपा गाउँपालिका ले आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई केन्द्रमा राखेर महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाले युवालाई कृषि र उद्यमशीलतामा आकर्षित गर्ने, दूध उत्पादनमा आत्मनिर्भर बन्ने, कृषि एम्बुलेन्स सञ्चालन गर्ने तथा धार्मिक तथा पर्यटकीय गन्तव्यको विकासलाई प्राथमिकता दिएको छ।


गाउँपालिका अध्यक्ष नवराज ओझाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा “रूपाको पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै स्थानीय स्रोत–साधनको अधिकतम उपयोग, रोजगार सिर्जना, सुशासन तथा नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिइएको उल्लेख गरिएको छ।
रूपा गाउँपालिकाले किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी ‘रूपा किसान एप’ सञ्चालन गर्ने, दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर अनुदान दिने, साइलेज कम्पनी स्थापना गर्ने तथा बाँझो जमिनमा अदुवा, बेसार, लसुन, टिमुरलगायत नगदे बाली विस्तार गर्ने कार्यक्रम अघि सारेको छ। आगामी वर्ष ४ हजार ५ सय रोपनी क्षेत्रमा मसलाजन्य बाली विस्तार गर्ने लक्ष्य राखिएको छ।

युवालाई कृषि र पशुपालनतर्फ आकर्षित गर्न अनुदान, कर छुट तथा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ। कृषि एम्बुलेन्समार्फत किसानको उत्पादन बजारसम्म पुर्याउने व्यवस्था गरिने तथा कृषि उपजमा बिचौलियाको अन्त्य गर्ने नीति लिइएको छ।
पशुपालनतर्फ गाउँपालिकाले कम्तीमा २०० युवालाई कृषि तथा पशुपालनमा आबद्ध गराउने, पशु बीमा, निःशुल्क नश्ल सुधार कार्यक्रम, पशु स्वास्थ्य शिविर तथा घाँस स्रोत केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ।
गाउँपालिकाले रूपालाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न मेहेरे पार्क निर्माणदेखि हात्तीमैला क्षेत्रलाई ‘ग्रेट वाल’ अवधारणामा विकास गर्ने योजना अघि सारेको छ। धार्मिक पर्यटन प्रवर्द्धनका लागि जालदेवी उत्पत्तिस्थललाई धार्मिक गन्तव्यका रूपमा विकास गरिने भएको छ।
होमस्टे प्रवर्द्धन, साहसिक पर्यटनका नयाँ गन्तव्यको खोजी, सांस्कृतिक संग्रहालय स्थापना, झरना निर्माण सम्भाव्यता अध्ययन तथा बहुउद्देश्यीय पदमार्गसहित शान्ति पार्क निर्माणलाई पनि प्राथमिकता दिइएको छ।
“स्वस्थ रूपा, खुसी रूपाबासी” अभियान अन्तर्गत विद्यालय र ज्येष्ठ नागरिकका लागि स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ। रूपाकोट अस्पतालबाट नियमित दन्त सेवा, विशेषज्ञसहित मोबाइल स्वास्थ्य शिविर, मधुमेह तथा उच्च रक्तचापका बिरामीलाई निःशुल्क औषधि, पाठेघरको मुखको क्यान्सर परीक्षण तथा स्वास्थ्य बीमामा विशेष छुटको व्यवस्था गरिने नीति ल्याइएको छ।
क्षयरोगमुक्त पालिका अभियान, पोषण सुधार कार्यक्रम, सुरक्षित प्रसूति सेवा तथा स्वास्थ्य संस्थालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ।
शिक्षा क्षेत्रमा गणित र अंग्रेजी विषयका शिक्षकलाई विशेष तालिम, ‘पढ्दै कमाउँदै’ कार्यक्रमको निरन्तरता, ICT ल्याब विस्तार, गरिब तथा जेहेन्दार विद्यार्थी कोष स्थापना, विद्यालय एकीकरण तथा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ।
विद्यालयमा योग, ध्यान तथा नैतिक शिक्षालाई प्राथमिकता दिइने र उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई पुरस्कृत गरिने नीति पनि सार्वजनिक गरिएको छ।
रामकोट–रामदी सडक, देउराली फेदी–रामदी–माउँडाँडा सडक, शिवचण्डी मोटरबाटोलगायत सडक आयोजनालाई निरन्तरता दिइने भएको छ। ९८ करोड रुपैयाँ लागतको रामकोट–हाँसपोखरी–पिप्ले सडक निर्माण प्रक्रिया अघि बढेको जानकारी दिइएको छ।
गाउँपालिकाले नयाँ सडक ट्र्याक नखोल्ने, बनेका सडकको मर्मत तथा संरक्षणलाई प्राथमिकता दिने, Rapid Response Team (RRT) गठन गर्ने तथा सडक सुरक्षा सुधार कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ।
सेवा करारका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिने, अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षामा जोडिने, जनजातीय भाषा संरक्षण कार्यक्रम सञ्चालन गर्ने तथा मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम र लागुऔषध दुर्व्यसन न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिने भएको छ।
गाउँपालिकाले पाँच लाख रुपैयाँभन्दा माथिका सबै योजनाको गुणस्तर परीक्षण गर्ने, तेस्रो पक्षबाट मूल्यांकन गराउने तथा योजना बैंक निर्माण गरी प्राथमिकताका आधारमा विकास आयोजना कार्यान्वयन गर्ने नीति लिएको छ।
रूपा गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममार्फत कृषि, पर्यटन र पूर्वाधारलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउँदै स्थानीय उत्पादन, रोजगारी सिर्जना र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
पूर्ण पाठ ।