प्रतिनिधि विवादले रास्वपा महाधिवेशन एक दिन थपियो

प्रतिनिधि विवादले रास्वपा महाधिवेशन एक दिन थपियो

Chitwan-IMG_2564-scaled

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको बन्दसत्र आन्तरिक विवादका कारण प्रभावित भएको छ। सोमबार बिहान ९ बजे नै सुरु हुने तालिका भए पनि महाधिवेशन प्रतिनिधिहरूको विषयलाई लिएर उत्पन्न किचलोका कारण अपराह्न ३ बजेसम्म बन्दसत्र सुरु हुन सकेन। प्रतिनिधि चयनमा देखिएको विवाद नटुंगिएपछि निर्धारित समयभन्दा बढी ढिलाइ भएको हो। बन्दसत्र सुरु हुन नसक्दा विभिन्न प्रतिवेदनहरू पेस गर्ने, त्यसमाथि छलफल गर्ने र निर्वाचन प्रक्रिया अघि बढाउने कामहरू रोकिएका छन्।

महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली मध्याह्न २ बजेसम्म पनि सार्वजनिक हुन सकेको थिएन। प्रारम्भिक सूचीमा नाम सच्याउने काम भइरहेको छ। विशेष गरी मधेस प्रदेशका प्रतिनिधिहरूको विषयमा तीव्र विवाद उत्पन्न भएपछि उजुरीसमेत परेको छ। प्रतिनिधि टुंगो नलागेका कारण हलमा प्रवेश नदिई उनीहरूलाई होल्डिङ सेन्टरमा राखिएको छ। लामो पर्खाइका कारण बन्दसत्र हल भित्रै प्रतिनिधिहरू सुत्न थालेका छन्। बन्दसत्रमा ढिलाइ भएपछि महाधिवेशनको समयावधि एक दिन लम्बिएको छ। आइतबार सुरु भएको यो महाधिवेशन मंगलबार सकिने कार्यतालिका तय थियो। तर आन्तरिक व्यवस्थापनमा समस्या देखिएपछि अब महाधिवेशन बुधबारसम्म चल्ने भएको छ। रास्वपाका प्रवक्ता मनीष झाले महाधिवेशनको अवधि एक दिन थपिएको जानकारी दिए।

प्रतिनिधिहरूको संख्या अनुमान गरेभन्दा धेरै भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ। सुरुमा करिब ४ हजार प्रतिनिधि सहभागी हुने भनिए पनि यो संख्या अझै बढ्ने देखिएको छ। ‘सुरुमा ३ हजार प्रतिनिधि हुनुहोला भन्ने थियो, तर धेरै प्रतिनिधि आउनुभयो। आकलनभन्दा उत्साहजनक सहभागिता नकार्न सकिन्न, कमजोरी भएको छ। हाम्रो व्यवस्थापनमा कमजोरी भयो,’ प्रवक्ता झाले भने। अहिले प्रतिनिधिको संख्या ४ हजार ५ सय पुग्ने अनुमान गरिएको छ। रास्वपाले पहिलो चरणमा केन्द्रीय सभापति र केन्द्रीय सदस्य पदका लागि निर्वाचन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया