जोमसोम । सहकार्य र समन्वयबाट मात्र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने एक कार्यक्रममा बक्ताहरुले बताएका छन् । उनीहरुले पर्यटकीय राजधानी पोखरासँगै मुस्ताङ र समग्र गण्डकी प्रदेशकै प्रवद्र्धनमा सरोकारवाला निकायबीच समन्वय र सहकार्यको खाँचो औंल्याएका हुन् । नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकी प्रदेशको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा आइतबार मुस्ताङको जोमसोमा पर्यटन प्रर्वद्धन सम्भावना, चुनौतीको विषयमा अन्तर्क्रिया गरिएको हो ।


पोखराको वाराही मन्दिरदेखि मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिकामा रहेको दामोदर कुण्डसम्मको प्रवद्र्धन यात्रा पूरा गरेपछि जोमसोममा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा मुस्ताङमा भारतीय पर्यटन तथा तीर्थ यात्रीको संख्या बढेपनि भारतीय सवारी सधानले निम्त्याएको समस्या र यसको साधानको विषयमा पनि छलफल गरिएको थियो । कार्यक्रममा घरपझोङ गाउँपालिका मुस्ताङका अध्यक्ष मोहनसिंह लालचनले जोमसोमसँगै मुस्ताङका पर्यटकीय साथै धार्मिक क्षेत्रको प्रवद्र्धनको लागि योजना बनाएर काम अगाडि बढाइएको बताए । विदेशी पर्यटकका लागि ‘पर्मिट’ अनिवार्य भएकाले पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन व्यवसायीहरू पनि इमानदार हुन आवश्यक भएको उनको भनाइ छ।
अध्यक्ष लालचनले व्यवसायी तथा सरोकारवालाहरूबाट आउने रचनात्मक सुझावलाई मनन गरेर गाउँपालिका अघि बढ्ने प्रतिबद्धता जनाए । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत युवराज गुरुङले बोर्ड सधैँ पर्यटनको प्रवद्र्धन र बजारीकरणमा लागिरहेको बताए । उनले अबका दिनमा पर्यटकको तथ्यांकलाई व्यवस्थित गरेर सोही अनुसारका सेवा सुविधाहरू तय गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै एनटिभिए गण्डकीका अध्यक्ष रविप्रसाद आचार्यले संघले हरेक वर्ष पर्यटन प्रवद्र्धनका फरक–फरक कार्यक्रम गर्दै आएको परिप्रेक्ष्यमा यसपटक दामोदर कुण्डसम्मको यात्रा सफल पारिएको जानकारी दिए । संघका पूर्वअध्यक्ष तथा सल्लाहकार बबरजंग गुरुङले पर्यटन प्रवद्र्धनका लागि स्थानीय, प्रदेश र केन्द्र गरी तीनै तहका सरकार लाग्नुपर्ने र यसमा स्थानीय समुदायले पनि अपनत्व लिनुपर्ने बताए । उनले दामोदर कुण्डलाई धार्मिक मात्र नभई पर्वतीय पर्यटनसँग जोडेर लैजानुपर्ने सुझाव दिए । गुरुङले भारतीय गाडीलाई अनुगमन गर्न स्थानीय प्रशासनसँग आग्रह गरे ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की अध्यक्ष शोभा पाण्डेले दामोदर कुण्डको यात्रा धार्मिक मात्र नभएर साहसिक दृष्टिकोणले पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरिन् ।नाट्टा गण्डकीका उपाध्यक्ष राजेश पहारीले मुस्ताङको पर्यटनमा पछिल्लो समय भएका सुधारका कामहरू सकारात्मक रहेको बताउँदै पर्यटकहरूले उनीहरूको वर्गीकरण र आवश्यकता अनुसारको गुणस्तरीय सेवा पाउनुपर्ने धारणा राखे ।एनटिभिए गण्डकीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद दाहालले पर्यटकहरूको पहिलो रोजाइमा मुस्ताङ पर्ने गरे पनि बाटोको अवस्था अझै कमजोर रहेकाले सडक स्तरीकरण तत्काल आवश्यक रहेको बताए । दामोदर कुण्ड जाने बाटोमा सामान्य पूर्वाधारसमेत नहुँदा पर्यटकले सास्ती भोग्नुपरेको उनको गुनासो थियो ।
नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुनदेवी रसाइलीले पोखरा—मुस्ताङ हवाइ सेवा हाल ‘सिजनल’ मात्र भएकाले यसलाई नियमित गर्न माग गरिन् । धार्मिक पर्यटन बढाउन तीनै तहका सरकारले विशेष पहल गर्नुपर्ने उनको भनाइ थियो। महासंघ मुस्ताङका निवर्तमान अध्यक्ष सुन्दरकुमार थकालीले पोखराबाट सिधै मुस्ताङ आएर मुक्तिनाथ दर्शन गरी सोही दिन पोखरा फर्कने प्रवृत्तिका कारण स्थानीय व्यवसाय चलायमान हुन नसकेको बताए । मुस्ताङको आर्थिक लाभका लागि कम्तीमा २ देखि ३ दिनको पर्यटकीय प्याकेज आवश्यक रहेको उनले उल्लेख गरे।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक ईश्वरी महतले उच्च हिमाली क्षेत्रमा ‘हाइ अल्टिच्युट’ (लेक लाग्ने) को जोखिम उच्च हुने भएकाले पर्यटकहरूलाई सिधै माथि नजान र एक दिन जोमसोममा बसेर वातावरणसँग घुलमिल हुन सुझाव दिए । उनले सम्पूर्ण यात्रीहरूलाई सुरक्षा सतर्कतालाई उच्च प्राथमिकतामा राखेर मात्र यात्रा तय गर्न आग्रह गरे। महिला पर्यटन व्यवसायी मञ्चकी कोषाध्यक्ष रीता रेग्मी पौडेलले पर्यटन व्यवसायीहरूबीच सहकार्य आवश्यक रहेको बताइन् । कार्यक्रम संयोजक विकास कँडेलले स्वागत मन्तव्य राखेका थिए भने एनटिभिए गण्डकी प्रदेशका महासचिव श्याम लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।