नेपाल उद्योग वाणिज्य  महासंघका अध्यक्ष अञ्जनलाई  पाेउवाको बधाइ

नेपाल उद्योग वाणिज्य  महासंघका अध्यक्ष अञ्जनलाई  पाेउवाको बधाइ

anjan

पोखरा । पोखरा उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा संघका एसोसियट सदस्य अञ्जन श्रेष्ठलाई बधाइ ज्ञापन गरेको छ । अञ्जन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै ६० औं वार्षिक साधारण सभाबाट अध्यक्षमा बहाली भएका हुन् । उनी पोखरेली औद्योगिक घराना लक्ष्मी समूहका निर्देशक हुन् । नवनिर्वाचित अध्यक्षलाई संघका महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीको विशेष उपस्थितिमा वर्तमान अध्यक्ष तथा हालै महासंघको केन्द्रीय सदस्यमा निर्वाचित केन्द्रीय सदस्य गोकर्ण कार्कीले बधाइ ज्ञापन गरे । केन्द्रीय अध्यक्ष श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्य,जिल्ला नगरतर्फका उपाध्यक्ष कृष्णप्रसाद शर्मासहित केन्द्रीय सदस्यहरुलाई स्वागत गर्दै उनले महासंघको इतिहासमा पोखराले दोस्रो अध्यक्ष पाउनु गर्वको विषय भएको बताए । उनले निजी क्षेत्रको मनोवल उकास्न र व्यावसायिक वातावरण निर्माणका लागि अञ्जनको कार्यकाल सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले गृहनगरी पोखरामा गरिएको सम्मानप्रति आभार व्यक्त गर्दै संशयको चौबाटोमा उभिएको निजी क्षेत्रलाई सम्मानजनक बनाउने अभियानमा मन,वचन र कर्मले लाग्ने प्रतिवद्धता जनाए । वर्तमान सरकारप्रति निजी क्षेत्रको संशय बाँकी रहे पनि आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा गरिएका घोषणाले भने सरकार निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्ला भन्ने आशा पलाएको उनको भनाइ थियो ।  नवप्रवर्तन र युवामैत्री नीतिहरु बजेटका राम्रा पक्ष भएको पनि उनको भनाइ थियो । यद्यपि,उनले सम्पत्ति शुद्धीकरणको  नाममा उद्योगी÷व्यवसायीमाथि भएको धरपकडप्रति भने चिन्ता व्यक्त गरे । ‘देशलाई अन्तर्राष्ट्रिय नियमनकारी निकाय फाइनान्सियल एक्सन टास्क फोर्सको चेतावनीपछि कालोसूचीबाट बाहिर निकाल्ने नाममा सरकारले निजी क्षेत्रमाथि धरपकड बढाएको बताउँदै उनले भने,‘हामी जिम्मेवार हुनुपर्छ, हामीमाथि पनि औंला ठड्याउने काम भइरहेको छ तर राज्यले पहिला सुन्ने अनि थुन्ने प्रक्रिया अपनाउनु पर्छ । अरुलाई क्षमादान दिने राज्यले किन व्यवसायीको हितबारे सोच्दैन ?’

अध्यक्ष श्रेष्ठले देशमा संविधान संशोधनको बहस चलिरहँदा सामाजिक न्यायसहितको अर्थव्यवस्थाका लागि महासंघले आवाज उठाउने बताए ।
सोही कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले अहिलेको सरकारले ल्याएको बजेटले अर्थतन्त्रको रुपान्तरण गर्छ भन्ने पत्याउँदै गर्दा बहुमतलाई अगाडि सारेर जे पनि गर्न खोजेको आरोप लगाए । देशलाई कालोसूचीमा पर्नबाट जोगाउनको लागि भन्दै उद्योगी÷व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलाएर सरकाले त्यस्तो छनक दिएको उनको आशय थियो । ‘निजी क्षेत्रले पब्लिक पल्स(जनताको चाहना) बुझ्नुपर्छ । उपभोक्ताको चाहना संवोधन गर्नुपर्छ । हामी हामी सवै अपराधलाई संरक्षण गर्न सक्दैनौँ तर सरकारबाटै कानूनको उलंघन हुँदा त्यसलाई जायज भन्न सक्दैनौँ,’उनले भने,‘राज्य र प्रशासन निजी क्षेत्रप्रति निर्मम हुन्छ  । अहिले ब्यूरोक्रेसी सत्तासँग नजिक हुन खोजेको र त्यही बाटोमा अगाडि बढेको छ । त्यसमा हामी गम्भीर हुनुपर्छ ।’

सरकारले सुशासन र भ्रष्टाचारविरुद्धको अभियानको नाममा निजी क्षेत्रमाथि प्रहार गर्दा मौन समर्थन नगर्न पनि उनले महासंघको नेतृत्वलाई खबरदारी गरे । विदेशसम्म पनि संयन्त्र भएको महासंघले देशलाई कालोसूचीमा पर्नबाट जोगाउन कुटनीतिक पहल गर्नुपर्ने सुझाव पनि उनको थियो । उनले संविधान संशोधनको मुद्दामा महासंघ प्रष्ट हुनुपर्ने बताउँदै अगाडि भने,‘संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र लेखिँदासम्म त्यसलाई संसारले स्वीकार्दैन । तपाईं जति चिच्याउनुस्,लगानी आउँदैन । यसमा निजी क्षेत्र प्रष्ट हुनुपर्छ । तीनखम्बे आर्थिक नीतिले पनि लगानी बढाउँदैन । यी विषय सच्याउन पहल गर्नुपर्छ ।’

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद र महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा बोल्दै महासंघका  वरिष्ठ उपाध्यक्ष सुरकृष्ण श्रेष्ठले जिल्ला नगर उद्योग वाणिज्य संघले उठाउने हरेक आवाजलाई अबदेखि महासंघले सुन्ने बताए ।
अर्का उपाध्यक्ष कृष्णप्रसाद शर्माले अहिलेको महासंघको नेतृत्व निजी क्षेत्रको मनोवल उकास्न हरतरहले प्रयत्नशील रहने बताए । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखरा च्याप्टरका  नवनिर्वाचित अध्यक्ष इ.सरोज कायस्थले आफ्नो टिम सूचना प्रविधिको विकासका लागि प्रयत्नशील रहने बताए । उनले प्रदेश सरकारले यसअघि नै घोषणा गरेको आइटी पार्क साँच्चिकै आइटीपार्क बन्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया