सरकारी जग्गामा बनेका संरचनामा पाेखरा महानगरको डाेजर

सरकारी जग्गामा बनेका संरचनामा पाेखरा महानगरको डाेजर

prithivi chowk

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क अगाडिको संस्थान क्षेत्रमा रहेका संरचना भत्काउन सुरु गरेको छ । सडक विस्तार गर्ने उद्देश्यले बिहीबार ती संरचनामा डोजर चलाइएको हो । यहाँ साहारा क्लब र सामुदायिक प्रहरी सेवा केन्द्रका भवन थिए । हिमाली सांस्कृतिक परिवारका संरचना पनि महानगरले भत्काएको छ । नगर प्रमुख धनराज आचार्यले सार्वजनिक जग्गा संरक्षण गर्न यो अभियान थालिएको बताए ।

यो क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठनका कार्यालय पनि थिए । महानगरले ट्रेड युनियन कांग्रेस र जिफन्ट गण्डकीका संरचना हटाउन सुरु गरेको छ । यी संस्थाहरुले पोखरा उपत्यका नगर विकास समितिको जग्गा भोगचलन गर्दै आएका थिए । केही संस्थाले संरचना बनाएर भाडासमेत उठाउने गरेको पाइएको छ । नेकपा निकट मजदुर संगठनले भने यसअघि नै आफ्नो संरचना भत्काएर चाबी बुझाइसकेको थियो । हङकङ बजार अगाडिका व्यवसायीले बुधबार राति नै सामान सारेर ठाउँ खाली गरिदिएका थिए । साहारा क्लबले सञ्चालन गरेको सार्वजनिक शौचालय पनि यही ठाउँमा छ । महानगरले संरचना हटाउन ३५ दिनको अन्तिम सूचना दिएको थियो । उक्त म्याद जेठ ९ गते नै सकिएको थियो । सूचनाको म्याद सकिएपछि महानगरले डोजर चलाउने निर्णय गरेको हो ।

संरचना हटाएपछि नयाँबजार तर्फ जाने सडक दुईतर्फी विस्तार गरिनेछ । नगर प्रमुख आचार्यले भने, ‘लामो समयदेखि संस्थाले उपभोग गरेको जग्गा अब सडक चौडा बनाउन प्रयोग हुनेछ ।’ उनले यस कार्यमा सहयोग गर्ने सरोकारवाला प्रति आभार पनि प्रकट गरे । महानगरले सोही क्षेत्रमा रहेका सुकुम्वासीको पनि उचित व्यवस्थापन गर्ने तयारी गरेको छ । सडक विस्तार भएपछि यस क्षेत्रको यातायात व्यवस्थापन सहज हुने विश्वास गरिएको छ ।

महानगरको आग्रहपछि अमरसिंह चोकका टहरा व्यवसायी आफैले हटाएका छन् भने फिर्केमा डोजर चलिरहेको छ

प्रतिक्रिया