पोखरा । पृथ्वीचोकस्थित सरकारी जग्गामा रहेका अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), नेपाल ट्रेड युनियन कांग्रेस, सामुदायिक प्रहरी सेवा पृथ्वीचोक, हिमाली सांस्कृतिक परिवार तथा सहारा क्लब पोखरा लगायतका संघसंस्थाले आफ्ना भवन तथा संरचना खाली गर्न थालेका छन् । पृथ्वीचोकको हङकङ बजार अगाडिको क्षेत्रमा रहेका भवन तथा संरचनाबाट सामान सार्ने र आफैं भवन भत्काउने काम गरेका छन् । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोक र आसपासको जग्गा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले लामो समयदेखि भोगचलन गर्दै आएका थिए ।


पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न ३५ दिने सूचना जारी गरेको थियो । पुनः १५ दिनको म्याद थप गरिएको छ । यसैक्रममा सहारा क्लब पोखराले आफ्नो कार्यालय दोबिल्लास्थित फुटबल एकेडेमीमा सारेको जनाएको छ । क्लबका अध्यक्ष केशवबहादुर थापाले आवश्यक सबै सामान स्थानान्तरण गरिसकिएको जानकारी दिए ।
त्यसैगरी, जिफन्ट गण्डकी प्रदेशका अध्यक्ष रुद्र खत्रीले संस्थाको कार्यालय नागढुंगास्थित मुक्तिनाथ विकास बैंक नजिक सारिएको बताए ।यसअघि सार्वजनिक तथा सरकारी जग्गा संरक्षण अभियानलाई समर्थन गर्दै जिफन्ट गण्डकी प्रदेशले पृथ्वीचोकस्थित सरकारी जग्गामा निर्माण गरिएको आफ्नो पक्की भवनसहित करिब ४ रोपनी जग्गा पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरिसकेको जनाएको छ ।