पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले गएको वैशाख महिनामा सवारीसाधन कारबाहीबाट ४४ लाख ८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ५ हजार २ सय ६३ चालकलाई कारबाही गरी उक्त रकम संकलन गरिएको कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए ।
नियमविपरीत सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने क्रममा ठुलो संख्यामा ट्राफिकको फन्दामा परेका हुन् । देवकोटाका अनुसार वैशाख महिनामा कास्कीमा २२ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको प्रहरीको विश्लेषण छ । १२ वटा सवारी दुर्घटना तीव्र गतिका कारण भएको देवकोटाले बताए ।
यस्तै, सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाएका ५ जना र मादक पदार्थ सेवन गरी चलाएका ३ जना दुर्घटनामा परेको कार्यालयको तथ्यांक छ । ‘मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने तथा तीव्र गतिमा हाँक्ने चालकलाई लक्षित गरी जाँच बढाइएको छ,’ देवकोटाले भने, ‘जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रूपमा सवारीसाधन जाँच गर्दै आएका छन् ।’
सवारी दुर्घटना न्यूनीकरणसँगै प्रहरीले सडकमा खटिने कर्मचारीको व्यवहार सुधारमा पनि जोड दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जाँचका क्रममा प्रहरीले नागरिकप्रति गर्ने व्यवहार र अपनाउनुपर्ने सुरक्षा सावधानीका विषयमा नमुना जाँच कार्यक्रम भइरहेको बताए । उनले प्रहरीको व्यवहारलाई थप मर्यादित र सुरक्षामुखी बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे । ट्राफिक प्रहरीले अहिले पोखराका विभिन्न खण्ड र जिल्लाका मुख्य सडकहरूमा आकस्मिक तथा नियमित जाँचलाई तीव्रता दिएको छ ।