पोखरा । होटल संघ पोखरा नेपाल लगायत पोखराका पर्यटन सम्बद्ध संघसंस्थाले रात्रीकालिन व्यवसायसँग सम्बन्धित ४२ बुँदे आचारसंहिता कार्यान्वयनका लागि अनुगमनलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाईमा विगतमा बनाइएको ४२ बुँदे आचारसंहिता पालना गर्दै लेकसाइड, ड्यामसाइड लगायत पोखराको केही भागहरुलाई २४ सै घण्टा वा रातभरी व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो ।

उक्त सहमति अक्षरसः कार्यान्वयन नहुँदा हो–हल्ला, ध्वनी प्रदूषण र विकृति बढ्दा शान्ति सुरक्षामा नै असर परेकोले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । राति दुई बजे उता रात्रीकालिन व्यवसायलाई संचालनमा रोक लगाउन समेत अनुरोध गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए । उल्लेखित विकृति विरुद्ध अनुगमनलाई तीव्र पार्न माग गर्दै पत्रमा पोखराका झण्डै दुई दर्जन पर्यटकीय संघसंस्थाका तर्फबाट हस्ताक्षर गरिएको छ ।