पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एकै दिन विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

आज मिति २०८३ जेठ १ गते जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले सम्मानित कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा २७ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा २० जना पुरुष र ७ जना महिला रहेका छन्।
प्रहरीले उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाही तथा जरिवाना असुलउपरका लागि आजै कास्की जिल्ला अदालतमा बुझाएको जनाएको छ। पक्राउ परेका प्रतिवादीबाट ४ वर्ष १५ दिन कैद सजाय तथा रु. ४८ लाख १ हजार ८ सय ८० जरिवाना असुलउपर हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि विभिन्न मुद्दा रहेका छन्। जसअनुसार चेक अनादर कसूरका १२ जना, केही सार्वजनिक अपराध कसूरका ५ जना, अंश मानाचामल सम्बन्धी कसूरका ४ जना, लेनदेन बिगो सम्बन्धी कसूरका २ जना, बैंकिङ कसूरका २ जना, सवारी ज्यान सम्बन्धी कसूरका १ जना तथा अभद्र व्यवहार सम्बन्धी कसूरका १ जना रहेका छन्।