प्रदीप र नारायणी सर्वोत्कृष्ट खेलाडी, टीकालाई लाइफटाईम अचिभमेन्ट अवार्ड

रारा पोखरा स्पोर्टस् अवार्ड-२०८२

 प्रदीप र नारायणी सर्वोत्कृष्ट खेलाडी, टीकालाई लाइफटाईम अचिभमेन्ट अवार्ड

All-Winner-PIC-

दशौं संस्करणको रारा पोखरा स्पोटर््स अवार्ड–२०८२ मा टेनिसका प्रदीप खड्का र एथ्लेटिक्सकी नारायणी भण्डारी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको दशौं संस्करणको रारा पोखरा स्पोर्टस् अवार्ड–२०८२ मा पुरुषतर्फ प्रदीप र महिलातर्फ नारायणी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन् । टेनिसका प्रदीपले नोमिनेसनमा परेका विज्ञान टि खत्री (जुडो) र सञ्जु विक्रम शाह (भलिबल)लाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष)को अवार्ड जिते ।

त्यस्तै, एथ्लेटिक्सकी ८ सय मिटर धाविका नारायणीले मोनिका राना (आर्चरी) र मनिषा तामाङ (जुडो)लाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (महिला) विधाको अवार्ड जितिन् । अवार्ड बिजेता नारायणी ८ सय मिटर दौडकी स्वर्ण पदक बिजेता र राष्ट्रिय किर्तिमानधारी धाविका हुन् ।

पिपल्स च्वाईस अवार्ड भने राजन दर्लामीले जिते । नोमिनेसनमा परेका ५ जनाबीच भएको प्रतिष्पर्धामा दर्लामीले फुटबलका दीप कार्की, एथ्लेटिक्सकी नारायणी भण्डारी, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा र क्रिकेटका विपिन खत्रीलाई पछि पार्दै अवार्ड जितेका हुन् । दर्शकको भोटका आधारमा सबैभन्दा बढि मत प्राप्त गर्ने दर्लामीलाई उक्त अवार्ड प्रदान गरिएको हो । खल्ती एपमार्फत प्राप्त भोटलाई यस विधामा मान्यता थियो ।

सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष) र सर्वोत्कृष्ट वर्ष खेलाडी (महिला) तथा पिपल्स च्वाईस विधामा अवार्ड प्राप्त गरेका प्रदीप र नारायणीले ट्रफीसहित एक/एक थान स्कुटर प्राप्त गरे ।

त्यस्तै, सर्वोत्कृष्ट वर्ष उदीयमान खेलाडीको अवार्ड निभा राई (व्याडमिन्टन)ले जितिन् । उनले अनुस्का अधिकारी (एथ्लेटिक्स) र सचिन सुनार (तेक्वान्दो)लाई पछि पार्दै आफूलाई अब्बल सावित गरिन् ।

सर्वोत्कृष्ट वर्ष प्रशिक्षक विधामा सिद्धान्त अधिकारी (एथ्लेटिक्स)ले अवार्ड जिते । उनले रेखमाया गुरुङ (तेक्वान्दो ) र टेनिसका कुमार अधिकारीलाई पछि पार्दै अवार्ड आफ्नो पोल्टामा पारे । सर्वोत्कृष्ट वर्ष खेल संस्था वा क्लबतर्फको अवार्ड कास्की जिल्ला क्रिकेट संघले जित्यो । मैदान सुधारदेखि निरन्तर प्रतियोगिता आयोजना र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिएको क्रिकेट संघले अवार्ड जितेको हो ।

सर्वोत्कृष्ट वर्ष उदीयमान खेलाडी, सर्वोत्कृष्ट वर्ष प्रशिक्षक र सर्वोत्कृष्ट वर्ष खेल संस्था क्लवतर्फको अवार्ड प्राप्त गर्ने सबैले नगद ३५/३५ हजारसहित ट्रफी प्राप्त गरे । मञ्चले वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड यस वर्ष दीननाथ बराललाई प्रदान गरेको छ । वर्षभरीमा खेल सम्बन्धि गरेको रिपोर्टिङका आधारमा बरालले अवार्ड जितेका हुन् । विगत दुई दशक भन्दा अगाडिदेखि पत्रकारिता गर्दै आएका बराल मञ्च गण्डकीका पूर्व अध्यक्ष हुन् भने उनी रेडियो नेपाल, कारोबार दैनिक र पोखरा क्लिक डटकममा कार्यरत छन् । पोखरा–२२ पुम्दीभुम्दीका स्थायी बासिन्दा उनले खेलकुद विटलाई मुख्य आधार बनाएर पत्रकारिता गर्दै आएका छन् । उनी दर्जनौं संघसंस्थाबाट सम्मानित र पुरस्कृत भइसकेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ओलम्पियन टीका बहादुर बोगटीलाई ‘लाइफटाइम एचिभ्मेन्ट अवार्ड’ बाट अर्पण गरेको छ । वि.सं. २०१९ सालमा गोरखाको ताप्ले गाउँमा जन्मिएका बोगटीले एथ्लेटिक्सको माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याउने बोगटीलाई मञ्च, गण्डकीले लाईफटाईम अचिभमेन्ट अवार्ड अर्पण गरेको हो । गोरखाका भिराला पाखाहरूमा दौडिँदै हुर्किएका उनले २०३७ सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा अगाडि बढाएका थिए । २०४४ सालदेखि अन्तर्राष्ट्रिय ट्रयाकमा पाइला राखेका बोगटीले राष्ट्रिय स्तरका थुप्रै प्रतियोगिताहरूमा स्वर्ण पदक जितेर आफूलाई अब्बल सावित गरे ।

बोगटीको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि सन् १९८८ को सियोल ओलम्पिक र १९९६ को एटलान्टा ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नु हो । विश्वका हस्ती धावकहरूसँगै ओलम्पिकको ट्रयाकमा दौडिएर उनले नेपालको चन्द्र–सूर्य अंकित झण्डालाई विश्वमाझ चिनाएका थिए । उनले सन् १९९४ मा भएको १२ औँ एसियाली खेलकुदमा समेत सहभागिता जनाएका थिए । दक्षिण एसियाली खेलकुद (साग) मा चौथो देखि सातौँ सागसम्म लगातार सहभागी भएका उनले १९९१ मा श्रीलंका र १९९३ मा बंगलादेशमा काश्य पदक जितेका थिए भने १९९५ मा भारतको मद्रासमा भएको सागमा स्वर्ण पदक चुमेका थिए । बोगटी ‘गोरखा दक्षिणबाहु’ बाट समेत विभूषित भइसकेका छन् । उनी हाल नया पुस्तालाई एथ्लेटिक्सको ज्ञान र अनुशासन सिकाउँदै कृषि पेशामा आबद्ध छन् ।

दृष्टिबिहीन क्रिकेट खेलाडी सुष्मा तामाङलाई स्पेसल अवार्ड

मञ्चले यस वर्ष दृष्टिबिहीन क्रिकेट खेलाडी सुस्मा तामाङलाई स्पेसल अवार्ड प्रदान गरेको छ । उनलाई नगद ३५ हजारसहित ट्रफी प्रदान गरिएको हो । आँखामा बाहिरी उज्यालो नभए पनि दृढ आत्मबल र कडा परिश्रमका माध्यमबाट नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाएकी उनलाई स्पेसल अवार्ड अर्पण गरेको मञ्चले जनाएको छ ।

अवार्ड बिजेताहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पाैडेल,  पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, हिमश्री फुड्स प्रालिका प्रबन्ध निर्देशक प्रकाश केसी, केल्मी पोखराका प्रमुख राज रम्तेल, गुरुङ गहना घरका सञ्चालक सिमा गुरुङ, आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था, टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्मालगायतले अवार्ड वितरण गरेका थिए ।

प्रतिक्रिया