फाइल तस्बिर ।
पोखरा । पोखरा महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ को भर्ना प्रक्रिया सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । महानगरको शिक्षा महाशाखाले मंगलबार सूचना जारी गर्दै भर्नाका लागि निश्चित समय र सर्तहरू तोकेको हो । नयाँ नियमअनुसार विद्यालयहरूले सुरुमा आफ्नै विद्यार्थीलाई भर्ना गर्नुपर्नेछ ।

महानगरको निर्देशनअनुसार वैशाख ३० गतेदेखि जेठ ८ गतेसम्म विद्यालयहरूले आफ्नै संस्थाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थीलाई मात्र भर्ना गर्न पाउनेछन् । यो अवधिमा बाहिरका विद्यार्थीलाई भर्ना लिन पाइने छैन । आफ्ना विद्यार्थीलाई भर्ना गरिसकेपछि बाँकी रहेको कोटामा मात्र खुला भर्ना प्रक्रिया अगाडि बढाउन भनिएको छ । खुला भर्ना भने जेठ ११ गतेपछि मात्र सुरु गर्न पाइने सूचनामा उल्लेख छ ।
संस्थागत (निजी) विद्यालयहरूले विद्यार्थी भर्ना गर्दा महानगरले प्रदान गर्ने छात्रवृत्ति कोटा अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ । छात्रवृत्तिका लागि छुट्टाइएका सिटहरूमा कुनै असर नपर्ने गरी मात्र अन्य विद्यार्थी भर्ना गर्न निर्देशन दिइएको छ । साथै सबै संस्थागत विद्यालयले २०८३ सालको कक्षा ११ को शुल्क विवरण आफ्नो सूचना पाटीमा अनिवार्य रूपमा अध्यावधिक गर्नुपर्नेछ । शुल्कमा पारदर्शिता कायम गर्न र अभिभावकलाई जानकारी दिन महानगरले यस्तो कडाइ गरेको हो ।
शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले यी निर्देशनहरूको पूर्ण पालना गर्न महानगरभित्रका सबै विद्यालयलाई आग्रह गरेका छन् । उनले भर्ना प्रक्रियालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको बताए । निर्देशन उल्लंघन गर्ने वा छात्रवृत्ति कोटा सुरक्षित नराख्ने विद्यालयमाथि निगरानी गरिने समेत उनले जानकारी दिएका छन् । यो सूचना पोखरा महानगरपालिका क्षेत्रभित्र कक्षा ११ सञ्चालन गर्ने सबै सरकारी र निजी विद्यालयका लागि अनिवार्य रूपमा लागू हुनेछ ।

