गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवनबाट सेवा सञ्चालन

गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवनबाट सेवा सञ्चालन

police hospital

पोखरा । गण्डकी प्रदेश प्रहरी अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पोखराको मुस्ताङचोकमा रहेको प्रहरी अस्पतालको गण्डकी प्रदेशक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले  उद्घाटन गर्नुभएको हो । कार्यक्रममा मुख्यमन्त्री पाण्डेले अस्पताल भवनले प्रदेशका प्रहरी कर्मचारी तथा उनीहरूको परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिक सुरक्षासँगै स्वास्थ्य सेवामा पनि प्रहरी संगठनको भूमिका थप सुदृढ बनाउने उल्लेख गर्नुभयो ।

४ करोड ८४ लाख ९६ हजार १ सय ४७ रुपियाँमा बनेको भवन गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत भौतिक पूर्वाधार शाखाको प्राविधिक समन्वयमा आधुनिक मापदण्ड अनुसार तयार गरिएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटमा उक्त अस्पताल बनेको हो । भूकम्प प्रतिरोधी आरसिसी फ्रेम संरचनामा बनेको अस्पताल भवन बहुउद्देश्यीय सेवासहित डिजाइन गरिएको इन्जिनियर डिएसपी चिरञ्जीवीप्रताप महतोले जानकारी दिनुभयो ।

महतोका अनुसार भवनमा ओपीडी कक्ष, दन्त सेवा, प्रयोगशाला, फार्मेसी, आकस्मिक कक्ष, प्रशासनिक कक्ष, नर्सिङ स्टेशन, वार्ड, अपरेसन थिएटर, स्टोर, चेंजिङ रूम, प्यान्ट्री र प्रसूति कक्ष लगायतका अत्याधुनिक सुविधा समावेश गरिएका छन । आवश्यक पूर्वाधार अन्तर्गत पानी ट्यांकी, अन्डरग्राउन्ड ट्यांकी, पार्किङ, क्यान्टिन तथा अन्य सहायक संरचनाहरू पनि निर्माण गरिएको जानकारी दिइएको छ । अस्पताल भवनको डिजाइन पाँच तले भएपनि रकम अभावमा दुई तला मात्र निर्माण गरिएको छ ।

उक्त अवसरमा निर्माण कार्यमा संलग्न प्राविधिक टोली, निर्माण व्यवसायी तथा सहयोगी निकायलाई प्रशंसापत्र वितरण गरिएको थियो । नवनिर्मित भवन सञ्चालनमा आएपछि गण्डकी प्रदेशका प्रहरी कर्मचारी र पूर्व प्रहरी कर्मचारीलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले बताउनुभयो । उहाँले अस्पतालमा सबै किसिमका विशषेज्ञ सेवा नभएकाले यसलाई आगामी दिनमा विस्तार गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले अस्पताललाई महानगरले सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गुर्नभएको थियो । अस्पतालका प्रमुख डाक्टर एसएसपी अभिमन्यू श्रेष्ठले स्वागत गर्दै थप सेवा विस्तारमा सबैको सहयोग आवश्यक भएको बताउनुभएको थियो ।

प्रतिक्रिया

भर्खरै