पोखरा । नवौँ प्रधानमन्त्री एनभिए भलिबल प्रतियोगिताको फाइनल आज पोखरा रङ्गशालाको कभर्डहलमा हुँदैछ । प्रतियोगितामा पुषरुतर्फ गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब फाइलनमा प्रवेश गरेका छन् । महिलातर्फ न्यु डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबिच प्रतिष्पर्धा हुनेछ । पुरुषतर्फ तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्ने पक्का भएको छ भने महिलातर्फ तेस्रो स्थानको लागि एपिएफ क्लब र एभरेस्ट भलिबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । बिहान ८ बजेदेखि खेल सुरु हुनेछ ।
महिलातर्फको साविक विजेतासमेत रहेको पुलिस शीर्ष स्थानमा रहेको छ भने अपराजित यात्रालाई पनि कायम राखेको छ । बुधबार टिप टप न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा पराजित गरी पुलिस शीर्ष स्थानमा उक्लिएको हो । न्यु डायमन्ड दोस्रो स्थानमा छन् । ५ खेलमा पुलिसले १४ अंक जोड्यो । पुलिस बाहेक सबै ४ टोलीलाई हराएको न्यु डायमण्डले १२ अंक छ ।
लिगको तालिकामा पुरुषतर्फ गण्डकी १७, हेल्प नेपाल १६, आर्मीको १४, पुलिस १२ अंकमा छन् । नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागी थिए । प्रतियोगिताको दुबैतर्फका विजेताले ८ लाख उपविजेताले ४ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।