पोखरा । केपी ओली कप राष्ट्रिय खुल्ला टी ट्वान्टी पुरुष क्रिकेटको दोस्रो दिनको खेलमा हेटौडा विजयी बनेको छ । हेटाैडाले पोखरा महानगरपालिकालाई पराजित गरेको हो ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा हेटौडा ४ विकेटले विजयी बनेको हो । जारी प्रतियोगितामा घरेलु मैदानमा पोखराको लगातार यो दोस्रो पराजय हो । पोखरा पहिलो खेलमा स्याङ्जासँग पराजित भएको थियो ।
समूह ‘ए’को खेलमा पहिलो दिन काठमाडौंसँग हारेको हेटौडाले पोखरा महानगरलाई पराजित गर्दै २ अंक जोड्न सफल भएको छ । यसअघि टस जितेर ब्याटिङमा उत्रिएको पोखरा महानगर १६ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ७१ रनमा समेटियो । पोखराका लागि सुमित श्रेष्ठले सर्वाधिक २६ रन, प्रमोद बास्तोलाले २२ रन र दीपक बरालले १४ रनको योगदान दिनुभयो ।
पोखरालाई सस्तैमा समेट्न हेटौंडाका अशीम श्रेष्ठ र अखिेलश ठाकुरले समान ३÷३ विकेट लिनुभयो । खेलमा म्यान अफ दी म्याच असीम हुनुभयो । ७२ रनको लक्ष्य पछ्याएको हेटौडा १२ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्न सफल भयो । हेटौडाको जितमा ओपनर गौरभ खड्काको भूमिका महत्वपूर्ण रह्यो । ३२ बलको सामना गर्नुभएका उहाँल ३४ रन जोड्नुभयो । मार्सल बरालको बलमा प्रमोद बास्तोलाको हातबाट क्याच आउट हुनुभयो ।
१६ टिमको सहभागिता रहेको प्रतियोगिता वैशाख ५ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र म्यान अफ दी म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता लिग कम नकाउटका आधारमा सञ्चालन गरिएको छ ।