पोखरा । नेकपा एमाले कास्कीकाे जागरण अभियान अन्तर्गत आज मोटर साइकल र्याली गर्ने भएको छ । एमाले कास्कीका अध्यक्षा बैनबादुर अधिकारी क्षेत्रीका र्यालीमा २ हजारभन्दा बढी मोटरसाइकल सहभागी गराउने योजना रहेको छ । ‘यस अभियानमार्फत पछिल्लो राजनीतिक गतिविधि, पार्टीको नीति, विचार र आगामी योजना जनतासमक्ष पुर्याउने लक्ष्य राखिएको छ,’ अधिकारले भने ।
प्रर्दशनी केन्द्रबाट सुरु हुने र्याली पृथ्वीचोक, मुस्ताङ चोक, बिरौटा, राष्ट्रबैंक चोक, सहिदचोक, लेकसाइड, हल्लनचोक, जिरी किलोमिटर, सिर्जनाचोक, सभागृहचोक, चिप्लेटुंगा, सिद्धार्थचोक, भैरबटोल, विन्दवासिनी, ट्याक्सीचोक, पिएन गेट, नदीपुर, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक, अमरसिंह चोकलगायतका स्थानमा परिक्रमा गर्नेछ ।
एमालेले यस अभियानलाई पार्टीको सशक्तीकरण गर्ने अवसरको रूपमा लिएको जनाएको छ । यस अभियानलाई सफल बनाउन एमालेका जनवर्गीय संगठनहरू, युवा संघ, विद्यार्थी संघ, सम्पर्क कमिटीहरूलाई विशेष जिम्मेवारी तोकिएको सचिव दर्शन लामाले बताए । विशाल र्यालीका कारण पोखराको सडक व्यवस्थापनलाई प्रभावित हुन नदिन ट्राफिक प्रहरीसँग समन्वय गर्ने योजना रहेको एमाले कास्कीले जनाएको छ ।