पोखरा । अराजकता र हिम्साका विरुद्ध पोखरामा नागरिक अगुवाले धर्ना दिएका छन् । गत चैत १५ गते राजावादीको नाममा काठाडौमा गरिएको आन्दोलदनमा सञ्चारकर्मीसहित २ जनाको ज्यान जाने गरी भएको हिम्सा विरुद्ध उनीहरुले धर्ना दिएका हुन् । “लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गराँै, अराजकता र हिम्सालाई निरुत्साहित गरौँ” भन्ने नाराका साथ पोखराको मुस्ताङचोकमा मानवअधिकारकर्मी, नागरिक अगुवा, सञ्चारकर्मी लगायत विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधि धर्नामा सहभागी भएका थिए ।
धर्नामा सहभागी भएकाहरुले प्रेस स्वतन्त्रताको ग्वारेन्टी गर, दण्डहीनता अन्त्य गर, मिडियामाथिको हमला बन्द गर, मानवअधिकारकर्मी र सञ्चारकर्मीमाथिको आक्रमण बन्द गर, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । करिब १ घण्टाको धर्नापछि आयोजित सभामा बोल्ने नागरिक अगुवाहरुले गणतन्त्रको विकल्प गणतन्त्र नै भएको र राजसंस्था पुनस्र्थापना सम्भव नभएको बताएका थिए । राजतन्त्रको सामन्ती प्रवृत्ति राजनीतिक दलका शीर्ष नेताहरुमा पनि देखिएकाले यसले समस्या ल्याएको बताउँदै दल र दलका नेताहरुमा लोकतान्त्रिक सोच हुनुपर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा गैसस महासंघका निवर्तमान अध्यक्ष राम सुवेदीले गणतन्त्र नेपाली जनताको प्रणा र सास भएको बताउनुभयो । राजसंस्था फर्काउने कुरा गलत र असम्भव भएको उहाँको भनाइ छ । अधिकारकर्मी विष्णु बरालले केही भाडाका टट्टुहरु कराउँदैमा लोकतन्त्र खतरामा नपरेको र राजा आउने कुनै सम्भावना नभएको बताउनुभयो । उहाँले राजनीतिक दल र नेताहरुमा देखिएको सामन्ती सोचलाई त्याग्नुपर्ने बताउयनुभयो.।
अधिकारकर्मी तथा अधिवक्ता सुरेन्द्र थापा मगरले पूर्वराजा ज्ञानेन्द्रको आफ्नै गतिविधिले उहाँको(ज्ञानेन्द्र) को प्रतिष्ठालाई कमजोर बनाएको बताउनुभयो ।नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले लोकतन्त्र ल्याउन मिडिया र पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताउँदै आन्दोलनका बेलामा सञ्चारकर्मी निसानामा पर्नु दुखद् भएको बताउनुभयो ।
कार्यक्रममा गैसस महासंघ गण्डकीका अध्यक्ष गोपाल खड्का र अधिकारकर्मी शेखर गौतमले संविधानले दिएको अधिकार प्रयोग गरेर आन्दोलन गर्न तथा हिम्सा अराजतकलाई निरुत्साहितका लागि कार्यक्रम गरिएको बताउनुभयो ।काठमाडौँमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न पनि धर्नामा सहभागी भएकाहरुले माग गरेका छन् ।