होटल, रेस्टुरेन्ट र खाजा घरमा श्रम तथा रोजगार कार्यालय पोखराको अनुगमन

होटल, रेस्टुरेन्ट र खाजा घरमा श्रम तथा रोजगार कार्यालय पोखराको अनुगमन

१७ वर्षीया दुई बालिकाको उद्धार

shram photo

पोखरा । श्रम तथा रोजगार कार्यालय पोखराले पृथ्वी राजमार्ग अन्तर्गत तनहुँका विभिन्न ठाउँका होटल, रेस्टुरेन्ट र खाजाघरमा गरेको अनुगमनका क्रममा १७ वर्षीया दुई बालिकाको उद्धार गरेको छ । गत मंगलबार अनुगमन गर्दा उनीहरु १८ वर्ष भन्दा कम उमेरको रहेको खुलेपछि कार्यालयले आज बिहीबार प्रक्रिया मिलाएर २ बालिकालाई उद्धार गरी पोखरा ल्याएको हो ।

१८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई काममा लगाउन नपाइने कानुनी प्रावधान अनुसार २ बालिकालाई उद्धार गरिएको श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख चण्डिका पौडेलले जानकारी दिए । उनका अनुसार गत मंगलबार तनहुँका होटल, रेस्टुरेन्ट, खाजाघर, मोटरसाइकल वर्कशप लगायतमा अनुगमन गरिएकोमा आँबुखरेनीको भूपू सैनिक होटल एन्ड लज र सप्तकोशी होटलमा बालिकाहरुलाई काममा लगाएको पाइएको थियो ।

श्रम तथा रोजगार कार्यालय पोखराका अधिकृत सरिता सुवेदी शर्मा, नासु जीवाखर शर्मा, राष्ट्रिय बाल अधिकार परिषद्का प्रदेश समन्वय अधिकृत वद्री वाग्ले, आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष दिनेश केसी, शक्ति समूहका प्रदेश संयोजक सरिता पौडेल, आँबुखैरेनी इलाका प्रहुरी कार्यालय प्रहरी सहायक निरीक्षक प्रेमबहादुर थापासहितको टोलीले उनीहरुलाई आज उद्धार गरेको हो । पौडेलका अनुसार उनीहरुलाई अहिले शक्ति समूले सञ्चालन गरेको पुनर्स्थापना केन्द्रमा राखिएको छ । बालिकालाई काम लगाउने ती होटललाई कारबाहीको प्रक्रिया थालिएको पौडेलको भनाइ छ ।

तनहुँको तुरतुरे, दमौली बजार, डुम्रेबजार र आँबुखैरेनीमा रहेका होटल, रेस्टुरेन्ट, खाजाघर गरी २५ वटामा अनुगमन गरिएको थियो । श्रम कार्यालय पोखराका प्रमुख पौडेलले अनुगमनका क्रममा कामदारसँग श्रम सम्झौता नगराई काममा लगाएको, सरकारले तोकेको न्युनतम पारिश्रमिक नदिएको, आठ घण्टा भन्दा बढी समय काममा लगाएको, कामदारको परिचय र उमेर खुल्ने कागजपत्र पनि नराखेको भेटिएको जानकारी दिए ।

विशेष गरी १८ वर्ष भन्दा कम उमरेका बालबालिकालाई काम लगाउन नहुने बारे सचेत गराउन अनुगमन गरिएको हो । अनुगमनका क्रममा ती संस्थाहरुलाई सामाजिक सुरक्षाकोष बारे जानकारी, श्रममा लगाउँदा गर्नुपर्ने प्रक्रियाबारेमा सचेत गराइएको पौडेलले बताए । एक पटकलाई सचेत गराइए पनि फेरि अनुगमन गर्दा नियम विपरीत देखिए कारबाही गरिने उनको भनाइ छ । अनुगमन क्रममा सचेतनामूलक स्टिकर पनि होटल, रेस्टुरेन्टमा टाँसिएको थियो ।

गत मंगलबारको अनुमगनमा श्रम कार्यालय पोखराका प्रमुख पौडेल, काराखाना निरीक्षक इन्जिनियर ईश्वरमणि भण्डारी, कार्यालयका नासु जीवाखर शर्मा र नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल सहभागी थिए । अनुगमनको कार्यलाई आगामी दिन पनि निरन्तरता दिइने र नियमति अनुमगन गरिने कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया