फोटो पत्रकार संघ कास्कीमा राम गुरुङ

फोटो पत्रकार संघ कास्कीमा राम गुरुङ

NPJA Photo

पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, सदस्यहरुमा सञ्जय शाक्य, गिरीधारी पोखरेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव र ३ सदस्यहरु कार्य समितिले पछि मनोनित गर्ने निर्वाचन समितिका संयोजक कृष्णमणि बरालले जानकारी दिए ।

अधिवेशनको नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रमा अध्यक्ष पौडेलले समाचार लेख्ने भन्दा फोटो पत्रकार फ्रन्ट लाइनमा बसेर काम गर्नुपर्ने हुँदा धेरै चुनौतीको सामना गर्नुपर्ने बताए । समाचारका लागि अति आवश्यक फोटो खिच्ने पत्रकारहरु एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले समाचारमा फोटोको महत्व जति छ त्यो भन्दा बढी फोटो पत्रकारको महत्व रहेको बताए । फोटो बिना समाचार र पत्रकार अपुरो हुने भएकाले आगामी दिनमा पत्रकार महासंघ र नेपाल फोटो पत्रकार संघ सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य राधिका कँडेलले कास्कीका फोटो पत्रकारहरु एकजुट हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा संघका संस्थापक अध्यक्ष घनश्याम पौडेलले २०६२÷०६३ को जनआन्दोलनको समयमा एकजुट भएका फोटो पत्रकारहरुको संस्थाले विभिन्न समयमा फोटो प्रदर्शनीलगायत अन्य रचनात्मक कार्यक्रम गर्दै आएको बताए । आगामी दिनमा पनि अझै क्रियाशिल भएर लाग्न उनको सुझाव थियो ।
संघका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद पौडेलले २०६२÷०६३ को जनआन्दोलन क्रममा तस्विर खिच्ने क्रममा विभिन्न समस्या भोग्नु परेपछि आन्दोलनकै दौरानमा स्थापना भएको संस्था अहिलेको अवस्थामा आईपुगेको बताए । २०५३ सालमा काठमाण्डौंमा खोलिएका राष्ट्रिय फोटो पत्रकार समूह नेपालको शाखाका रुपमा स्थापित संस्था केन्द्रमा गुटबन्दीमा परी टुटफुट भएको अवस्थामा कास्की एक भएर अघि बढिरहेको उनले सुनाए ।

संघले राजनीति बाहेक, पर्यटन प्रवद्र्धन र वातावरण संरक्षण तथा जनचेतनामूलक फोटो प्रदर्शनी गरिरहेको जानकारी दिए । पूर्वअध्यक्ष ईन्द्रप्रसाद पौडेलले केन्द्रले २०७४ सालमा गरेको भद्र सहमति र निर्णय लत्याएपनि कास्कीमा केन्द्रकै निर्णय अनुसार दर्ता गरिएको नेपाल फोटो पत्रकार संंघ कास्की गुटबन्दी बिना अहिलेसम्म चलिरहेको जानकारी दिए । वि.सं की २०७४ सालमा दर्ता भएको नेपाल फोटो पत्रकार संंघ, कास्कीको पहिलो नेतृत्व आफैले गरेको उनले सुनाए । त्यसपछिका अध्यक्षहरुले पनि संस्थालाई जोगाएर विभिन्न कार्यक्रम गरिरहेको उनले बताए ।
फोटो पत्रकारहरुको अर्को संस्था फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाले फोटो पत्रकारहरु एकजुट हुनुपर्ने सन्देशसहित आफूहरुको संस्था नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा गाभिएको घोषणा गरेको छ । २०६७ सालमा कास्कीमा स्थापना भएको फोटो पत्रकार महासंघ, नेपाल कास्की शाखाका अध्यक्ष एकराज गिरीले आफ्नो संस्था एनपिजए कास्कीमा गाम्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया