अमेरिकाको वासिङ्टन डिसीमा हवाई दुर्घटना, ६७ जनाको मृत्यु

अमेरिकाको वासिङ्टन डिसीमा हवाई दुर्घटना, ६७ जनाको मृत्यु

habai

वासिङ्टन डीसी। अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा ६७ जनाको ज्यान गएको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो ।

६० जना यात्रु र चालक दलका ४ सदस्यसहित कान्सस राज्यको विचिटाबाट उडेको अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसए एयरलाइन्सको विमान ‘धावनमार्ग–३३’ मा अवतरण गर्ने क्रममा अमेरिकी सेनाको हेलिकोप्टरसँग ठोकिएको हो । तीन सैनिक सवार सेनाको सिकोर्स्की ‘ब्ल्याक हक’ हेलिकोप्टर प्रशिक्षण उडानमा रहेको सैनिक अधिकारीलाई उद्धृत गर्दै बताइएको छ । विमान र हेलिकोप्टरमा रहेका सबैको मृत्यु भएको अमेरिकी सञ्चार संस्था एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ ।

अधिकारीहरूले अँध्यारो, तीव्र वेगको हुरी र चिसोका कारण उद्धार कार्य प्रभावित भएको जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूले वासिङ्टन डीसीका आगलागी तथा आपत्कालीन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरलाई उद्धृत गर्दै दुर्घटनामा कुनै पनि यात्रु जीवितै भेटिने सम्भावना नरहेको बताएका थिए ।

घटनास्थलको तापक्रम निकै कम भएको र रातको समय भएकाले उद्धारमा निकै कठिनाइ भएको डोनेलीको भनाइ छ । उनका अनुसार उद्धार कार्यमा करिब ३ सय आपत्कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएको छ । खोजी तथा उद्धार कार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाएको छ । फिगर स्केटिङको अमेरिकी नियामक निकाय ‘यूएस फिगर स्केटिङ’ का अनुसार विमानमा केही स्केटिङ खेलाडी, प्रशिक्षक र तिनका आफन्तहरूले यात्रा गरिरहेका थिए । उनीहरू विचिटामा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्किरहेका थिए । रुसी समाचार संस्था टीएएसएसका अनुसार विमानमा रुसका दुई जना फिगर स्केटर र प्रशिक्षक पनि थिए । साभार इकान्तिपुर डटकम।

प्रतिक्रिया