पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ पुस १८ गतेदेखि लेखनाथमा सुरु भएको २० औँ संस्करणको लेखनाथ महोत्सव मंगलबार समापन भएको छ। समापन समारोहलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सव अत्यन्त भव्यताकासाथ सफल भएकोमा आमदर्शक र आयोजकलाई धन्यवाद् दिए।
महोत्सवमा राखिएको गौतम बुद्धको मुर्तिलाई उपयुक्त स्थानमा व्यवस्थित गरिने समेत आचार्यले बताए। लेखनाथ क्षेत्रमा २१ ओटा विभिन्न परियोजना जस्तै वेगनास तालको वाटर स्पोर्ट, पोखराको प्रवेशद्धारमा रहेको हेलमेटडाडाँ लगायतका विभिन्न परियोजना सफल पार्न निजी क्षेत्रलाई लगानी गर्न सक्रिय सहभागिताका लागि आचार्यले आव्हान गरे।
पोखरा आफैँमा सौन्दर्यले भरिपूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यमा लगायतका कुरालाई समेटेर महानगरसँग सहकार्य गरी पर्यटनको राजधानीको रुपमा विकास गर्न पर्नेमा उनले जोड दिएका थिए।
कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सव २० औँ संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको बताए।
साथै भब्य र सभ्य दर्शकको साथ मिलेको, उत्पादक र उपभोक्तालाई एकै थलोमा मिलाएर व्यापार र पर्यटनमा विकास पुर्याएको बताउँदै प्राकृतिक सम्पदाको संरक्षणमा जुट्न सवैमा आग्रह गरे।
लेखनाथभित्रका संघ संस्था, व्यवसायीहरु, विभिन्न जात जातिहरु, आमा-महिला समूहहरू र समग्रमा सम्पुर्ण लेखनाथवासिहरुको एकताका कारण महोत्सव सफल भएको उनले बताए।
कार्यक्रमा गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार विमला भण्डारीले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने बताउँदै मेलाले क्रेता र विक्रेतालाई एकै ठाउँमा जम्मा गरी बस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राखिन्।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले महोत्सवले लेखनाथ क्षेत्रको पहिचान गरी यस क्षेत्रमा उत्पादित कृषिजन्य बस्तुको व्यापार प्रवद्र्धन भएको र आगामी दिनमा अझ पर्यटकीयस्थल र ऐतिहासिक स्थलको खोजी गर्न आग्रह गरे।
महोत्सवमा आयोजकले राखेको लक्ष्यभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन्, भने सोही अनुसारको कारोबार समेत भएको छ। महोत्सव अवधिभर ९ करोड ५० लाख भन्दाबढीको कारोबार भएको र ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको प्रचारप्रसार संयोजक जानुका पराजुलीले बताइन्।
महोत्सवमा निर्माण गरिएको बुद्धको मुर्ति सहितको नमुना विशेष आकर्षणको केन्द्र बनेको थियो भने मातृशत्तिहरुको सम्मानमा आयोजित पहिलो पटक भएको हाजिरी जवाफ प्रतियोगिता, रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिहरूको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनीको आयोजना गरिएको थियो।
साथै आदिवासी जनजाति तथा आमा-महिला समूहहरूको आफ्नो झाँकीर्याली तथा भेषभुषा प्रदर्शनी, ख्याति प्राप्त हास्य व्यङ्ग्य कलाकारहरुको दैनिक प्रस्तुति, कृषि तथा पशुपक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सर्ट अन्य आकर्षणको रुपमा रहेका थिए।
विभिन्न विधामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना प्राप्त गर्ने व्यवसायी, दर्शक एवं कलाकारलाई कार्यक्रममा सम्मान गरीएको थियो। महोत्सव सञ्चालनबाट हुने बचत रकमबाट प्रस्तावित औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग र विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ।
संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन महासचिव जानुका पराजुलीले धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष उपेन्द्रराज सुवेदी राजुले गरेका थिए।