पोखरा । पोखरा महानगर पालिका वडा नं. ५ का वडाबासीहरूलाई रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (जीसीआरयू) सम्बन्धी तालिम प्रदान गरिएको छ । बिहीबार ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालिको सहजिकरणमा युएनडिपी, कोईका लगायत सङ्घसंस्था र पोखरा महानगरपालिका वडा नं. ५ को सहयोगमा तालिम प्रदान गरिएको हो ।
जीसीआरयू अन्तर्गत नै वडाभित्रका विभिन्न टोल विकास संस्थाहरूलाई अर्गानिक फर्टिलाईजर र डस्टबिन वितरण गरिएको छ । तालिमको अवसर पारेर रिठेगौडा शान्तिमार्ग टोल विकास संस्थाका सदस्यहरूलाई खेर गएका वस्तुलाई कम्पोस्ट बनाउन सकिने फर्टिलाईजर र डस्टबिन वितरण गरिएको हो । पोखरा महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विष्णु बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ग्रीन रोड वेस्ट म्यानेजमेन्ट प्रालिका सहसंस्थापक विमल बास्तोलाले तालिम प्रदान गरेका थिए । प्रशिक्षक बास्तोलाले अहिलेको समयमा फोहोर व्यवस्थापन प्रमुख चुनौतीका रुपमा रहेको बताउँदै कसरी कमभन्दा कम फोहोर उत्पादन गर्ने र फोहोरको व्यवस्थापनसँगै हरित रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान गरिएको जानकारी दिए ।
कार्यक्रमको सहजकर्ता चूडामणि अधिकारीले वडाभित्र रहेका विभिन्न टोलविकास संस्थाका सदस्यहरूबाट गाईबस्तु नपालेका र कौसीखेती र करेसाबारी मात्र भएका व्यक्तिहरूलाई छनोट गरेर उक्त डस्टबिन तथा फर्टिलाईजर प्रदान गरिएको जानकारी दिए । अपसाईक्लिङ र रिसाईक्लिङमार्फत कसरी फोहोरको उत्पादन कम गर्नका लागी उक्त सामाग्री वितरण गरिएको उनको भनाई छ ।
यसअघि आज नै नमुना टोल विकास संस्थाका सदस्यहरूलाई पनि डस्टबिन र फर्टिलाईजर वितरण गरिएको थियो भने माछापुच्छ्रे टोल विकास संस्था, गैरी गाउँ टोल विकास संस्थालाई हिजो मङ्गलवार वितरण गरिएको थियो ।
पोखरामा रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना गर्न आवश्यक परियोजना कार्यान्वयनका लागि यसअघि नै पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच सम्झौता भएको छ । परियोजनामा कोइकाले ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर खर्च गर्नेछ । परियोजनाले रिसाइकल र अप–साइकल मार्फत नयाँ सामाग्रीहरू उत्पादन गर्नेछ । यसलाई सिकाई केन्द्रका रूपमा विकास गरिने र पोखराका लागि एक पर्यटन गन्तव्यका रूपमा समेत यो स्थापित हुने विश्वास गरिएको छ ।