स्याङ्जा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थायित्वको लागि दुई ठूला दलबीच सत्ता सहकार्य भएको बताएका छन् । राजनीतिक अस्थिरता हुँदा एक वर्षमा ४ वटा सरकार बन्ने परिस्थति बन्यो,’उनले भने,‘ अस्थिर राजनीति समृद्धिको वाधक भएकोले जनताको चाहना र आवश्यकतालाई पूरा गर्न यो गठबन्धन भएको हो, सत्ता सहकार्य २०८४ सालसमै रहन्छ । ’
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको छैंटौं अध्यक्ष कप तथा खेलकुद महोत्सवको उद्घाटन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेकोबीचमा वैचारिक मतभेद रहेपनि पार्टी भन्दा पनि जनता र देशको हितका लागि दुई दलबीच सत्ता सहकार्य भएको बताए ।‘सत्ता छाड्दाको छटपटि र कार्यकर्तालाई भुलाइ राख्न यो सरकार लामो जाँदैन र सत्ता सहकार्य टुट्छ भन्नेपनि गरिएको छ,’ उनले नेकपा माओवादीतिर इंगित गर्दैै भने,‘ सरकार ढल्छ भन्ने सपना नदेखे हुन्छ, दुई सरकारको सहकार्य २०८४ सम्मै रहन्छ, रहन्छ । ’
सरकारका प्रवक्ता समेत रहेका उनले संविधान गतिशील दस्तावेज भएकाले जनताको हितका लागि केही विषयबस्तुमा संविधान संशोधन गर्ने सहमति गरेर दुई पार्टी मिलेर सरकार गठन भएको बताए । संविधानका केही मूलभूत कुरा बाहेक अन्य आवश्यक विषय संशोधन हुने बताउँदै मन्त्री गुरुङले सविधान संशोधन आवश्यकताअनुसार सबै दलसँग परामर्श गरी गरिने प्रष्ट पारे ।
यस्तै, गण्डकी प्रदेश सदस्य कल्पना तिवारीले जनताले खोजेर भेटिने स्थायी सरकार स्थानीय सरकार भएको बताउँदै कालीगण्डकी अग्रस्थानमा रहेको बताइन् । २०२८ सालमा बनेको सिद्धार्थ राजमार्ग फराकिलो हुन नसकेको बताउँदै डेडिकेटेड फोरलेन बनाउन पहल गर्नुपर्ने बताइन् । भीरकोट नरपालिका प्रमुख गोविन्द कर्माचार्य, स्याङ्जा प्रमुख जिल्ला अधिकारी सुनीता नेपाल, नेकपा (एमाले) का अध्यक्ष सूर्यप्रसाद गैरे, नेपाली कांग्रेस जिल्ला उपसभापति शेरबहादुर थापा, माओवादी केन्द्रका ज्ञानप्रसाद भण्डारी, राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछाने, पालिका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, उपाध्यक्ष सावित्रा कोइराला, पालिका प्रमुख प्रशासकीय अधिकृत परशुराम पोखरेलले बोलेका थिए ।
सो अघि मन्त्री गुरुङले आधारभूत आँखा उपचार केन्द्रको मिर्मीबजारमा उद्घाटन गरेका थिए । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सुरु भएको उपचार केन्द्र सञ्चालनका लागि पालिका अध्यक्ष खिमबहादुर थापा र हिमालय आँखा अस्पतालका अध्यक्ष सुरेन्द्र थापा मगरबीच हस्ताक्षर भएको छ । खेलकुद महोत्सवमा छात्र छात्राको गरी विभिन्न २२ विधामा प्रतिष्पर्धा हुनेछ ।
गाउँपालिकाले वर्षेनी खेलकुद कार्यक्रम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत पाेरखेलले बताए । उनका अनुसार खेलकुद महाेत्सवमा पालिकाका सबै वडाहरुबाट गरी करिब ७ सय खेलाडी सहभागी भएका छन् । खेलकुद महाेत्सव भाेलि समापन हुनेछ ।