काठमाडौँ । यस वर्षको मनसुन भित्रने समय आउन अब चार दिन मात्र बाँकी छ । अघिल्लो वर्षदेखि मनसुन भित्रने समय केही दिन पर सर्दै जुन १३ तारिखमा स्थानान्तरण भएको हो । सोही अनुसार आउँदो एक साताभित्र मनसुन भित्रने वातावरण बन्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


विभागका अनुसार भारतको केरलामा जुन ४ तारिखमा मनसुनको न्यूनचापीय रेखा प्रवेश गरिसकेको छ । त्यहाँबाट नेपालको पूर्वी भेगसम्म आइपुग्न करिब १० दिन लाग्छ । मौसमविद् रोजन लामिछानेले भन्नुभयो, “बङ्गालको खाडीबाट अगाडि बढेको मनसुन केरलाबाट अगाडि बढ्ने क्रममा रहेको छ, नेपालको पूर्वी भू–भागबाट प्रवेश गर्न सक्छ ।” सुरुवातमा पूर्वको थोरै भू–भागमा मनसुन फैलने सम्भावना रहेको उहाँले बताउनुभयो । मनसुनको नेपाल आगमनबारे यतिखेर मौसमविद्हरूको टिमले एक मिनेट पनि नछाडी अध्ययन गरिरहनुभएको छ । मौसमविद् लामिछानेले सुनाउनुभयो, “केही दिनदेखि लगातार हामी सामूहिक तथा अन्तर्राष्ट्रिय छलफल गरिरहेका छौँ, कसरी आउँछ र कत्तिको प्रभावकारी आउँछ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ ।”
हरेक वर्ष वसन्त ऋतुपछि वर्षा ऋतु आउँछ । यो ऋतुहरूको फेरबदलका क्रममा जमिन र समुद्रको सतह दुवैतिर हावाको दबाब बढ्छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार गर्मीको समयमा समुद्रबाट जमिनतिर पानीको कणसहितको हावा बहन्छ भने जाडोको समयमा जमिनको तातो हावा समुद्रतिर जान्छ । यही समग्र प्रक्रियालाई नै मनसुन भनिन्छ । मनसुन भित्रने भनेकोचाहिँ पानीका कणसहितको जलवाष्पयुक्त हावा जमिनतिर बहनु हो । उहाँले भन्नुभयो, “गर्मीमा जमिनभन्दा समुद्रको हावाको दबाब क्षेत्र बढी बन्छ, त्यो तातिएको हावा जमिनतर्फ सर्छ, त्यो प्रक्रियालाई नै मनसुन भित्रने भनिएको हो ।”

नेपालमा वर्षभरिमा पर्ने वर्षाको ८० प्रतिशत वर्षा मनसुनकै समयमा पर्छ । नेपालमा आउने मनसुनी हावाको सिर्जना सुरुवातमा पृथ्वीको दक्षिण गोलाद्र्धस्थित दक्षिण अफ्रिकी मुलुक माडागास्करआसपासमा हुन्छ । त्यहाँको वातावरणीय परिवर्तनसँगै बङ्गालको खाडीमा पनि मनसुनी वायुको दबाब बढ्छ । त्यहाँबाट त्यो जलवाष्प मनसुनी वायु बनेर भारतको केरला, मध्यप्रदेश हुँदै नेपालको पूर्वी क्षेत्रबाट भित्रने गर्छ । जेठको चौथो साता प्रवेश हुने मनसुन असोजको तेस्रो सातामा बाहिरिने गरेको छ ।
मौसमविद् अधिकारीका अनुसार नेपालको मनसुनमा वर्षा गराउने अर्को प्रणाली अरब सागरमा विकास हुन्छ । त्यहाँको जलवाष्पयुक्त वायुले नेपालको मध्य र पश्चिम भू–भागमा मनसुनी वर्षा गराउने गर्छ । नेपालमा भित्रने मनसुनी न्यूनचापीय रेखाको सरदर स्थान भारतको गङ्गा किनारआसपास हो । त्यहाँबाट त्यो रेखा जलवाष्पयुक्त वायुसहित नेपालको दक्षिण तराई नजिक सर्दा नेपालमा वर्षा बढी हुने गरेको छ ।