मोटर भन्दा पहिला जहाज आएको पोखरामा अन्तर्राष्ट्रिय नियमित उडान कहिलेदेखि ?

मोटर भन्दा पहिला जहाज आएको पोखरामा अन्तर्राष्ट्रिय नियमित उडान कहिलेदेखि ?

पर्यटन व्यावसायी भन्छन्,‘पोखरामा अन्तर्राष्ट्रिय उडान नचले कहाँ चल्छ ?’

pcci

पोखरा । मोटर आउनु भन्दा पहिले जहाज आएको पोखरा सहरमा २ वर्ष अघि अन्र्तराष्ट्रिय विमनस्थल बनेर सञ्चालनमा छ । पोखराको घाँसे मैदानमा जहाज अवतरण गरेको ७१ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो । तर, अहिलेसम्म नियमित उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमनस्थल बनाउनका लागि जग्गा अधिग्रहण गरिएको ४८ वर्षपछि विमानस्थल सञ्चालनमा आएपनि नियमति अन्तर्राष्ट्रिय उडान नहुँदा पोखरेली चिन्तित छन् ।

२००८ साल असोजमा पहिलो पटक पोखरामा जहाज आएको थियो । तत्कालीन गृहमन्त्री बिपी कोइराला र यातायात मन्त्री गणेशमान सिंहलाई लिएर आएको बिमान घाँसे मैदानमा अवतरण गरेको थियो । हिमालयन एभिएसनले नामक विमान कम्पनीले डेकोटा विमान चलाउँथ्यो । त्यसपछि डेकोटाले पोखराबाट भैरहवा, काठमाडौं उडान भर्न थाल्दा पृथ्वी राजमार्ग बन्ने सुरसार नै थिएन । २०१२ सालतिर काठमाडौं–पोखरा नियमित उडान सुरु भयो । हप्तामा दुई पटक जहाजले पोखरा उडान भर्न थाल्यो । पोखरामा नियमित आइरहनुपर्ने भएपछि राजा महेन्द्रले २०१५ सालमा जहाजमा राखेर जिप पोखरा पठाएका थिए । पोखराको मुस्ताङचोकमा रहेको पुरानो विमानस्थल २०१५ असारदेखि सञ्चालनमा आएको हो ।

पोखरामा विमानस्थल बनाउनमा पोखराका उद्योगी व्यवसायीको छाता संस्था तत्कालीन पोखरा व्यापार संघ र अहिलेको पोखरा उद्योग वाणिज्य संघको योगदान महत्वपूर्ण छ । विमानस्थल नबन्दासम्म निरन्तरको दबाब र बनेपछि नियमित अन्र्तराष्ट्रिय उडानको लागि पनि संघले पहल गरिरहेको छ । सञ्चालन भएको २ वर्षसम्ममा नियमति उडान हुन नसकेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चितताका लागि भावी रणनीति बनाउन बिहीबार संघले छलफल आयोजना ग¥यो । कार्यक्रममा पोखरा विमानस्थलसँग पोखरा उद्योग वाणिज्य संघको गहिरो भावनात्मक सम्बन्ध रहेको बताउँदै अध्यक्ष गोकर्ण कार्कीले हिजो बनाउनका लागि पनि आन्दोलन गरियो अब उडानको लागि आन्दोलन गर्न पनिभए तयार रहेको बताए । ‘जुन उद्देश्यले विमानस्थल बनेको हो, त्यो अझै पूरा भएको छैन,’उनले भने,‘ नियमित उडानका लागि सरकार र निजी क्षेत्र मिलेर पहल गर्नुपर्दछ ।’

कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राविधकरणका उपनिर्देशक इन्जिनियर कृष्णप्रसाद पौडेलले आफ्नो प्रस्तुति राख्दै पोखरा विमानस्थल अन्तर्राष्टिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियम र मापदण्ड अनुसार फोर डी क्याटोगोरीको विमानस्थल भएको बताए । उनले यो विमानस्थलमा न्यारो बडी जहाजसम्मलाई उडान अवतरण गर्न कुनै पनि प्राविधिक समस्या नरहेको बताए । ‘यसको मोडेल र बनोट अनुसार करिब १ सय ८० सिटे जहाज मात्र यो विमानस्थल आउन सक्छन्’ उनले भने,‘अन्तर्राष्ट्रिय विमनस्थलमा चाहिने सबै सुविधा र पूर्वाधार यसमा छन् ।’ उनले पोखरा साँघुरो उपत्यका भएकाले भौगोलिक रुपमा भने केही चुनौती रहेको सुनाए ।

उनले नियमित उडानका लागि यात्रु वा पर्यटकको संख्या बढाउन भिसा प्रक्रियाको काम पोखराबाटै हुनुुपर्ने बताए । कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका पूर्वउपनिर्देशक इन्जिनियर ओम शर्माले मानव निर्मित पर्यटकीय गन्तव्य बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । उनले जहाज रित्तै उडाउन भएन, यात्रु ल्याउने वातवारण बनाउनु पर्ने बताउँदै सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने औंल्याए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक तथा सूचना अधिकारी जशोदा सुवेदीले अन्तर्राष्ट्रिय उडानको लागि ढोका खोलरे बसेको बताइन् ।उनले अन्तर्राष्ट्रिय उडानको लागि विमानस्थलमा छुटैछुट रहेको बताइन् । विमानस्थल बारे नकारात्मक भन्दा पनि सम्भावना उजागर गरिदिन आग्रह गरिन् ।

पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले सरकारले अन्तर्राष्ट्रिय उडानको लागि नीतिगत र प्राविधिक विषयलाई सल्टाएमा बजार खोज्न निजी क्षेत्र तयार रहेको बताए । नेपालका आन्तरिक विमनस्थलमा (त्रिुभवन विमानस्थल बाहेक) सबै भन्दा बढी यात्रुलाई सेवा दिने पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नचले कहाँबाट चल्छ भन्दै उनले प्रश्न गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका कास्कीका सभापति किशोरदत्त बराल, नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक अनुप जोशी, पोखरा पर्यटन परिष्दका अध्यक्ष तारानाथ पहारी, पोखर चेम्बर अफ कमर्शका अध्यक्ष उमराज बास्तोला, पोखरा पर्यटन परिषद्का महासचिव जीवन सापकोटा, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोमा गौतम लगायतले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि नागरिक उड्डयन प्राधिकरणले बढी चाँसो लिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया