प्रेम–शान्ति आख्यान सम्मान तथा पुरस्कारबाट साहित्यकार समीपलाई सम्मान गरिने

प्रेम–शान्ति आख्यान सम्मान तथा पुरस्कारबाट साहित्यकार समीपलाई सम्मान गरिने

deepak sameep photo
पोखरा । साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ प्रदान गरिने भएको छ । नेपाली साहित्यको उन्नयनमा विशेष योगदानपुर्‍याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले लमजुङे स्रष्टा समीपलाई सो पुरस्कार अर्पण गर्न लागेको हो ।
लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आएका साहित्यकार दीपक समीप चालिसको दशकको अन्त्यदेखि नेपाली साहित्यमा लागिपरेका हुन् । हालसम्म उनको भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह) र नदीको राजमार्ग (लघुकथा सङ्ग्रह) प्रकाशित छन् । उनले विभिन्न साहित्यिक पत्रिकाहरूको पनि सम्पादनसमेत गरिसकेका छन् । मूलतः गजलकारका रूपमा परिचित उनी कविता, गीत, गजल, मुक्तक सँगसँगै कथा र लघुकथा लेखनमा पनि सक्रिय छन् ।
साहित्यकार दीपक समीपले यसअघि राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार (२०५४), राष्ट्रव्यापी उत्कृष्ट लघुकथाकार (२०५५), खुला मुक्तक प्रतियोगितामा प्रथम (२०५५), गजल साधना सम्मान (२०६३), समता काव्य सम्मान (२०६६), शिल्पी साहित्य सम्मान (२०६६), स्रष्टा साहित्य चौतारी पुरस्कार (२०६८), गजल प्रतिभा पुरस्कार (२०६९), अक्षरयात्रा सम्मान (२०७०), गजल सन्ध्या सम्मान (२०७०), मुक्तक मञ्च पोखरा सम्मान (२०७३), गजल मञ्च मकवानपुर सम्मान (२०७४), लेखक कृति पुरस्कार (२०७९), बहादुरानन्द स्मृति मुक्तक सम्मान (२०८०), अभिलेख सम्मान (२०८१) प्राप्त गरिसकेका छन् ।
साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरी सदस्य रहेको छनोट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको हो ।   लमजुङ–पोखरा सम्पर्क समितिकी संरक्षक प्रेमकुमारी गुरुङद्वारा स्थापित सो पुरस्कारको राशि दश हजार रुपियाँ र सम्मानपत्र रहेको छ । हरेक दुई दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कार यसअघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो । आगामी  मङ्सिर १५ गते शनिवार  एक समारोहको आयोजना गरी साहित्यकार समीपलाई पुरस्कार प्रदान गरिने लमजुङ–पोखरा सम्पर्क समितिका अध्यक्ष कृष्ण गिरीले जानकारी दिए ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds