बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

prakash kc baglung pic (2)

पोखरा ।  गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो ।

टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो । गल्कोट–हरिचौर–म्याग्दी १०.८९४ किलोमिटर सडक स्तरोन्नतीका लागि २०७६ साल कात्तिक २७ मा २८ करोड १५ लाख ७ हजारमा एमएस एपेक्स खड्का कृष्ण जेशीसँग सम्झौता भएको थियो ।

सम्झौता अवधि सकिन करिब ५ महिना बाँकी रहेको सडकको काम ६७ प्रतिशत सकिएको छ ।बुर्तिबाङ–तमानखोला १०.२ किलोमिटर सडक गत साउनमा २ वर्षभित्र सक्ने गरी सम्झौता भएको छ । निर्माणका लागि एसी कन्ट्रक्सनले १२ करोड ७४ लाख ७ हजार ८ सय ४२ रुपैयाँमा सम्झौता गरेको थियो ।

सडकको निरीक्षण गर्दै मन्त्री केसीले समयसीमा भित्र काम सक्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले जनताबाट गुनासो नआउने गरेर काम गर्नसमेत आग्रह गरे । यस्तै चक्ति खोलामाथि बनेको २.८ किलोमिटर पुलसँगै १०.३६० किलोमिटर गाडीखोला–ढोरपाटन सडकको निर्माण सकिएको छ । उक्त सडकको निरीक्षण गर्दै मन्त्री केसीले गाडीखोलाबाट ढोरपाटन जोड्न सकिए यात्रा थप सहज हुने भन्दै थप सडक निर्माणमा चासो व्यक्त गरे ।

अनुमगनपछि मन्त्री केसीले बागलुङका योजनाबारे पूर्वाधार विकास कार्यालय बागलुङसँग छलफलसमेत गरेका थिए । छलफलका क्रममा पूर्वाधार विकास कार्यालय बागलुङका कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले बागलुङका योजनाबारे मन्त्री केसीलाई योजनाबारे जानकारी गराए । घिमिरेले कार्यालयमा कर्मचारीको समस्या रहेको भन्दै थप कर्मचारी पठाइदिन आग्रह गरे ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव कमलप्रसाद अधिकारीले छलफल गरेर कर्मचारी पठाउने प्रतिबद्धता व्यक्त गरे । भौतिक मन्त्री केसीले समयसिमाभित्र निर्माण सक्ने गरी ठेकेदारलाई काम लगाउन कार्यालय प्रमुखलाई निर्देशन दिए । नेकपा (एमाले)का सांसद केसी गत भदौ १७ मा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया